काठमाडौं।नेपाल तरुण दलले ७७ जिल्लाका अध्यक्षहरुलाई स्थानीय प्रशासनको अनुमातिमा नियम क्रियाकलापमा सहजीकरण गर्न गराउन परिपत्र गरेको छ । अध्यक्ष बस्नेतले लकडाउन अवधिमा दैनिक जनजीवन थप कठिन बन्न नदिन नौ वुँदे परिपत्र जारी गरेका हुन ।
अध्यक्ष बस्नेतले बाहिरी मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाइनसम्म पुग्न नसकेका र नपुगेका भए प्रशासनसँग सहयोग लिई पुग्ने वातावरणको सिर्जना गर्न जिल्ला अध्यक्षहरुलाई परिपत्र गरेका छन । यसै गरी बस्नेतले सरकारले लागु गरेको लकडाउनको पूर्णपालना गर्न र गराउन र देशका विभिन्न भू–भागबाट आई बसोबास गर्ने व्यक्तिलाई कुनै समस्या परेको भए सो समस्या समाधान गर्न पनि परिपत्रमार्फत निर्देशन दिएका छन ।
लकडाउनका कारण गन्तव्यसम्म पुग्न नपाई बीचबाटोमा अलपत्र परेका व्यक्तिहरुलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न,खान बस्नको व्यवस्थापन गर्न र खाद्यान्न, तरकारी, दुध, औषधी, पानीलगायत दैनिक उपभोग्य सामानको खरिद गर्दा भीडभाड हुने भएकाले सजगता अपनाउदै प्रशासनको समन्वयमा खरिद प्रक्रियामा सहजीकरण गर्न निर्देशन दिएका छन ।
लकडाउनको समयमा सम्पूर्ण गतिविधि बन्द गर्नु भएका कारण दिनभरी ज्यालामजदुरी गरेर साँझ–बिहानको छाक टार्ने वर्गलाई समस्या पर्ने भएका कारण ती वर्गको दैनिक जीवन निर्वाहमा आवश्यक सहयोग गर्न समेत बस्नेतले निर्देशन दिएका छन ।
भारतका विभिन्न ठाउँबाट नेपाल आउनका लागि हिँडेका नेपाली समुदायका मानिसहरु लकडाउनका कारण देशभरीका विभिन्न सीमा नाकामा अलपत्र परेका हुनाले ती व्यक्तिहरु तोकिएको समय क्वारेन्टाईनमा बस्ने गरी नेपाल भित्रिने सहज वातावरण मिलाउन नेपाल तरुण दलका सम्बन्धित जिल्ला अध्यक्षहरुलाई स्थानीय प्रशासनसँग समन्वय गर्न समेत अध्यक्ष बस्नेतले परिपत्रमार्फत निर्देशन दिएका छन ।






