काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रण, न्यूनीकरण एवं उपचारका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु अविलम्ब सबै प्रदेश र जिल्लामा पुर्याउन आग्रह गरेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई आज टेलिफोन सम्पर्क गरी सरकारले हिजो मात्रै चिनबाट ल्याएका उपकरण र स्वास्थ्य सामाग्रीहरु तत्काल सातै प्रदेश र प्रदेशबाट सबै जिल्ला र स्वास्थ्य केन्द्रसम्म पु(याउन आग्रह गरेका हुन् ।
सचेतक खाँणले कोरोना संक्रमणको रोकथाम तथा उपचारमा संलग्न हुने चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिक, महिला स्वास्थ्य स्वयम् सेविका तथा सरसफाइमा संलग्न हुने श्रमिक, एम्बुलेन्स चालक र प्रत्यक्ष रूपमा संलग्न हुने सुरक्षाकर्मीहरूको मनोवल उच्च राख्न विशेष सुबिधाको व्यवस्था गर्न पनि अनुरोध गरे ।
यसैगरी प्रमुख सचेतक खाणले उपकरण र स्वास्थ्य सामाग्रीहरु निजि अस्पताल र स्वास्थ संस्थाहरूलाई पनि व्यवस्था गरि कोरोना रोकथामको अभियानमा निजि अस्पताल र स्वास्थ संस्थाहरूलाई समेत संलग्न गराउन आग्रह गराए । साथै थप उपकरण र स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अघि बढाइ सामग्रीको अभाव हुन नदिन पनि स्वास्थ्यमन्त्री ढकाललाई सचेत गराए ।
जवाफमा स्वास्थ्यमन्त्री ढकालले सोमबार सबै प्रदेशहरुमा र प्रदेश ५ को बुटवल तथा नेपालगंजमा कोरोना भाइरसको उपचारमा आवश्यक पर्ने सामग्री तथा उपकरण पठाउने तथा थप सामाग्रीहरु यहीँ चैत २१ गते भित्र नेपाल आउने आश्वासन दिएको तथा मन्त्री ढकालले नेपाली कांग्रेसको सहयोग एवं साथको लागि धन्यवाद दिएको प्रमुख सचेतक खाणले जानकारी दिए ।
सरकारले हिजो मात्र चीनबाट कोरोना रोकथाम तथा उपचारको लागि मेडिकल सामाग्री नेपाल ल्याएको छ ।




