वालिङ। प्रजातन्त्र सेनानी एवं स्याङ्जा बमकाण्डका रक्त हस्ताक्षरकर्ता सूर्यप्रसाद रेग्मीको आज अपराह्न निधन भएको छ । लामो समयदेखि रक्तचापबाट पीडित रेग्मीको ७८ वर्षका उमेरमा वालिङ २ स्थित आफ्नै निवासमा निधन भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा ,नेपाली काँग्रेसका पुराना एवं त्यागी नेता आदरणीय सुर्य प्रसाद रेग्मीको असामयिक निधनको खबरले अत्यन्तै दुखित भएकाे बताएका छन् । सभापति देउवाले भनेका छन प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन र पार्टी जीवनको कठिन अवस्थामा पनि जेलनेल र अनेकौं दुखकष्ट सहेर पार्टी र प्रजातन्त्रको लागि तपाईंले दिनुभएको योगदानको म उच्च सम्मान व्यक्त गर्दछु। दुखको यस घडीमा स्वर्गीय रेग्मी प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
विसं २०३१ को स्याङ्जा बमकाण्डका नायक तथा बीपी कोइरालाको प्रवासकालीन अनुयायी र निष्ठावान् लोकतान्त्रिक आन्दोलनका रुपमा स्थापित नेताको निधनले अपूरणीय क्षति पुगेको काँग्रेस स्याङ्जाका सभापति बुद्धिबहादुर रानाले बताए।
विसं २०२८ मा तत्कालीन पञ्चायती शासनका विरुद्धमा रगतले हस्ताक्षर गरी आन्दोलनमा लाग्ने टोलीमध्येका एक उहाँ पनि हुनुहुन्थ्यो । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले आठ वर्ष प्रवास र आठ वर्ष कारागारमा जीवन बिताउनुभएको नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ का सचिव दामोदर लम्सालले बताए । रेग्मी केही महीनाअघि भएको राष्ट्रियसभाको निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवार भई पराजित हुनुभएको थियो ।
रेग्मीका श्रीमती र दुई छोरी हुनुहुन्छ । सोमबार रेग्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिपछि रामनदीधाम राम्दीमा दाहसंस्कार गरिने काँग्रेस स्याङ्जाका सभापति रानाले बताए ।




