सङ्खुवासभा। नेपाल सरकारले कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमणको सम्भावित उच्च जोखिमलाई ध्यानमा राखेर देशभर लकडाउन गरेको चौथो दिन सङ्खुवासभाका दशै स्थानीय तहको जनजीवन पूर्णरुपमा प्रभाव परेको छ ।
नेपाल सरकारले कोरोना भाइरसको जोखिमलाई सावधानी अपनाउने उदेश्यबाट चारदिन अघि गरेको लकडाउन देशभर जारी छ । लकडाउनको चौथो दिन विहान सवेरैबाट जिल्लाको सदरमुकाम खाँदवारी¸ पुरानो सदरमुकाम चैनपुर, जिल्लाका व्यापारिक बजारहरु पोखरी¸ खराङ¸ मादी ओखरबोटे¸ मुढे शनिश्चरे¸ तुम्लिङटार¸ मानेभञ्ज्याङ, नुम¸ बाह्रविसे¸ लगायत शहरी क्षेत्रहरुमा लकडाउनको प्रभाव प्रत्यक्ष रुपमा परेको छ । आज विहान सबेरैबाट बजार क्षेत्रहरुमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति देखिन्थ्यो । विगत दिनहरु भन्दा आज अझ उच्च सुरक्षा व्यवस्था मिलाइएको देखिन्छ । स्वास्थ्य हेल्पडेस्कमा खटिएका सुरक्षाकर्मी बाहेक सर्वसाधारण नागरिकहरुले लकडाउनको पूर्ण रुपमा पालना गरेका छन् । जिल्ला भित्र रहेका बजार क्षेत्रका पसल¸ होटल¸ कलकारखाना¸ उद्योगधन्दा¸ व्यापार व्यवसाय आज पनि ठप्प छन् ।
जिल्ला भित्रका सबै सडकहरुमा साना तथा ठूला सवारी साधनहरु आज पनि चलेका छैनन् । सरकारले चैत्र ११ गतेदेखि चैत्र १८ गते सम्मका लागि गरेको लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला स्थित सुरक्षा निकायहरुले सर्वसाधारण जनताहरुलाई अत्यावश्यक काम बाहेक मास्क लगाएर मात्र काममा गएर तुरुन्त फर्कन सुरक्षाकर्मीले निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिएो । प्रजिअ दुलालका अनुसार आजबाट खाद्यान्न, तरकारी पसल लगायतका अत्यावशकीय सामान खरिदका लागि उद्योग वाणिज्य संघ र सुरक्षा निकाय सहितको निगरानीमा विहान र वेलुकीको एउटा निश्चित समय निर्धारण गरेर विक्री वितरण गर्ने व्यवस्था मिलाइएको समेत जानकारी दिए । जिल्लाका हरेक ठाउँमा स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान अन्तर्गत कार्यरत सुरक्षा निकाय, सेनालाई उच्च सतर्कताका साथ तयारीमा राखिएको सङ्खुवासभाका प्रजिअ दुलालले जानकारी दिए ।
आजै जिल्ला सुरक्षा निकायको बैठक बसी लकडाउनलाई अझ प्रभावकारी बनाउन जिल्ला स्थित राजनीतिक दल, जनप्रतिनिधिहरु, नागरिक समाज, सञ्चारकर्मीको समन्वय बढाएर जनतालाई घरबाट बाहिर ननिस्कन र सुरक्षाकर्मीहरुलाई सहयोग गर्न आग्रह गर्दै विगत ३ दिनको लकडाउनको समिक्षा गर्दै जिल्लाका दशै पालिकाका नाका भित्र बाहिरबाट अपरिचित मानिसहरुको निगरानी बढाउने तयारीकासाथ स्थानीय निकायका जनप्रतिनिधिहरुसँग सहयोग लिएर देश बाहिरबाट आएका जोकोही नागरिकहरुको खोजी गरी उनीहरुको स्वास्थ्य चेकजाँच गरेर क्वारेन्टाइनमा राख्न जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकाय परिचालन गरिएको प्रजिअ दुलालले जानकारी दिए ।
आजै सङ्खुवासभामा क्रियाशिल ३ वटा राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल सरकारले गरेको लकडाउनको पूर्ण समर्थन गर्न जिल्लावासीहरुमा आग्रह गरिएको छ । लकडाउनको समय अवधि भित्र जिल्लाका सम्पूर्ण नागरिकहरुलाई आ–आफ्नै घर भित्र रहन आग्रह गर्दै यस लकडाउनको समयमा जिल्ला भित्र व्यापार व्यवसाय गर्ने सम्पूर्ण उद्योग व्यापारीहरुलाई सहज रुपमा खाद्य एवं अत्यावशकीय सामग्रीहरु सुपथ मूल्यमा उपलब्ध गराउन अनुरोध गर्दै यस समयमा स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधिहरुले आपूर्तिलाई सहज बनाउन लागि पर्न अनुरोध गर्दै लकडाउनको समयमा श्रमिक, मजदुर विपन्न गरिव, अपाङ्ग नागरिकहरुलाई समेत ध्यानमा राखेर स्थानीय सरकारले उनीहरुलाई खाद्यान्नको व्यवस्था मिलाउन अनुरोध गर्दै विज्ञप्ति जारी गरिएको नेकपाका जिल्ला सचिव कृष्ण जिमीले जानकारी दिए। सचिव जिमीका अनुसार विज्ञप्तिमा नेकपाका तर्फबाट जिल्ला सचिव कृष्ण जिमी (भरत), नेपाली कांग्रेसका तर्फबाट पार्टी जिल्ला सचिव निर्मला तामाङ (बस्नेत), समाजवादी पार्टीको तर्फबाट जिल्ला कोषाध्यक्ष खमनाथ राईले संयुक्त रुपमा विज्ञप्तिमा हस्ताक्षर गरेको समेत जानकारी दिए।




