ताजा समाचार

झुलाघाटमा दुई सय नेपाली अलपत्र   

बैतडी।भारतबाट फर्किन लागेका दुई सय जना नेपाली नागरिक झुलाघाट सीमानामा अलपत्र परेका छन् । गएको तीन दिनदेखि लकडाउनका कारण उनीहरू बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाट बजारमा अलपत्र परेका हुन् ।

बैतडीको दशरथचन्द नगरपालिका–१, गुरुखोला, घर भएका गजेन्द्र भट्टले आफुहरू तीन दिनदेखि झुलाघाटमा अलपत्र अवस्थामा रहेको बताए । भट्टले भारतमा पनि लकडाउन भएका कारण भारतीय प्रहरीले समेत आफूहरुलाई देख्ने बितिक्कै कुटपिट गर्ने गरेको गुनासो गरे ।

सोही ठाउँकै निवासी रमेश भट्टले भारतीय प्रहरीले देख्ने बितिक्कै कुटपिट गरिरहेकोले आफूहरु एउटा होटेलको कुनामा लुकेर बसेको जानकारी दिए । अलपत्र परेका नागरिक भारतीय प्रहरीको डरले, महाकाली नदीे किनारको जंगलमा लुकेर बसेका छौं”, उनले भने “भारतमा लकडाउनका कारणे होटलहरू बन्द रहेकोले तीन दिनदेखि भोकभोकै बाहिरै सुत्ने गरेका छौं ।” उनीहरू भोकभोकै जंगलमा खुल्ला सुत्नुपर्दा झन् बिरामी भइने चिन्ता थपिएको छ । यस्तो अवस्थामा पनि जिल्ला प्रशासन कार्यालय तथा जनप्रतिनिधिहरूले आफूहरूलाई नेपाल पुर्यारउन केही पहल नगरेको भन्दै उनहरूले आक्रोस व्यक्त गरे।

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने भारतको झुलाघाटमा अलपत्र नागरिकको उद्धारका लागि पहल थालिरहेको बताएका छन । दुई दिनदेखि भारतको पिथौरागढ जिल्लाका प्रमुख अधिकारी (डिएम) लाई बन्द गरिएको नाका खोल्न आग्रह गरिएको बताए।

जिल्ला प्रशासन कार्यालय बैतडीले दुबै देशले सीमा नाका बन्द गरेकोले कुनै एक देशले चाहेर मात्रै नाका खोल्न सम्भव नभएकोे जनाएको छ ।
बन्द नाका खोल्नका लागि ढिलाई हुँदा धेरै नागरिक असुरक्षित रुपमा महाकाली नदीमा ट्युबको सहायताले नेपाल फर्केका पाइएको छ् ।

६४ जनाको उद्धार
‘लक डाउन’ जारी रहेको बेला भारतबाट आएर अलपत्र परेका ६४ जनाको उद्धार गरिएको छ । बैतडीको एकमात्र नाका झुलाघाट बन्द भएपछि ट्युबको सहायताबाट नेपाल आएका उनीहरूको उद्धार गरिएको हो ।

खोचलेक प्रहरी चौकीका इञ्चार्ज शंकरदत्त भट्टले दोगडाकेदार गाउँपालिका, खोचलेक प्रहरी चौकी र दोगडाकेदार गाउँपालिका वडा नं ४ को संयुक्त पहलमा उनीहरूरुको उद्धार गरिएको जानकारी दिए । महाकाली नदीमा ट्युबवाट आएका बझाङ, डोटी र बैतडीको सिगासका स्थानीय बासिन्दाको उद्धार गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।

‘लक डाउनपछि नेपाल छिरेका नागरिकहरू दोगडाकेदार गाउँपालिका ४ को बसाली क्षेत्रमा अलपत्र परेका थिए । ४२ जनाको बुधवार राती २२ जनाको बिहीवार उद्धार गरिएको छ । दोगडाकेदार ४ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले उनीहरूलाई जीप, टिपर र ट्रकमा राखेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाईएको उद्धार गरिएका उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने जानकारी दिए। स्थानीय प्रशासनले ‘लक डाउन’का बेला असुरक्षित रुपमा ट्युबको माध्यमबाट नआउन आग्रह छ ।

 सुदूरपश्चिमका तेह्र जनाको स्वाब नमूना पठाइयो

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्र्रमणको आशंका गरिएका १३ जनाको स्वाब नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

कैलालीको धनगढीमा रहेको सुदूरपश्चिम प्रदेश प्रयोगशालामा विभिन्न प्रदेशका जिल्लाबाट संकलन गरी पठाइएको १३ वटा नमूना परीक्षणका आएकोमा ती सबै थ्रोट स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको प्रदेश प्रयोगशालाकी निमित्त निर्देशक अस्मिता सापकोटाले जानकारी दिए ।

उनका अनुसार सेती प्रादेशिक अस्पतालमा संकलित आठ, महाकाली अस्पतालबाट पठाइएका दुई, बैतडी जिल्ला अस्पतालका दुई र डोटी जिल्ला अस्पतालबाट पठाइएको एक गरी १३ को नमूना परीक्षणका लागि काठमाडौं प्रयोगशालामा पठाइएको हो । कोभिड १९ फैलिन नदिन सरकारले लकडाउन लागू गरेसँगै हवाई सेवा समेत बन्द भएकाले सुदूरपश्चिम प्रदेशबाट नमूना परीक्षणका लागि गाडीमार्फत काठमाडौं पठाइएको छ । उनले नमूना परिक्षणको रिपोर्ट आउन दुई तीन दिन लाग्ने बताइन ।

हाल अलग्गै आइसोलेसनमा राखेर उनीहरूको उपचार भइरहेको छ । प्रदेश प्रयोगशालाले सुदूरपश्चिमबाट यसअघि पठाइएका १४ वटा नमूना परीक्षण गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । कोभिड १९ को परिक्षण गर्न सुदूरपश्चिममा प्रयोगशाला छैन ।

पशुबली चढाउन निषेध    
प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बिहिबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि मठमन्दिरमा भिडभाड नगर्नेदेखि पशु बली चढाउन समेत निषेध गर्ने निर्णय भएको जानकारी दिए । चैते दशैंका बेला बली चढाउने चलन भएकाले टाढाटाढाबाट बलीका लागि पशु ल्याइएको र सुरक्षा निकायले त्यसलाई निषेध गर्ने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *