रोल्पा।कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्नका लागि सरकारले यतिबेला देशभर लकडाउनको घोषणा गरेको छ । त्यसैगरीे प्रत्येक नेपालीलाई क्वारेन्टाइनमा बस्न आग्रह समेत गरेको छ । जसका कारण रोल्पामा पनि आवागमन ठप्प भएको छ । प्रत्येक ब्यक्तिले भेटघाट किनमेल तथा घुमफिर लगायतका हरेक गतिविधिहरुबाट बञ्चित भएका छन् । अफिस, कार्यालय तथा शैक्षिक क्षेत्र बिदा गरिएको छ । नीजि क्षेत्रपनि बन्द छ । ओल्लो घरको मान्छे पल्लो घरसम्म जाने अवस्था नरहेपछि प्रवासीको सम्झनामा घरपरिवारहरु छटपटाउन थालेका छन् ।
सुनिलस्मृति गाउँपालिका रोल्पाकी नौमती कामीले लकडाउनको हल्ला सुनेपछि प्रवासी छोराको यादमा तड्पिरहेको बताउनु भयो । ६२ वर्षिय कामीका छोरा करिव २ वर्ष पहिले बैदेशिक रोजगारीमा जानुभएको थियो । यही बैशाखमा बिदा मिलाएर घर फर्कने कार्यक्रम रहेपनि कोरोना भाइरसको सन्त्रासका कारण देश लकडाउन भएपछि प्रवासी छोरो के गर्दैछ, कहाँ छ भन्ने कुराले आफूलाई पिरोल्न थालेको कामीले बताउनु भयो ।
टीभी रेडियोमा कोरोनाका कारण दिनहुँ मान्छे मरिरहेको समाचार आउँदा उहाँको मन झन आत्तिन्छ । कहिले छोरो फर्केला भन्दै भगवान् सम्झेर बसेको उहाँ बताउनुहुन्छ ।
यस्तै परिवर्तन गाउँपालिका रोल्पाकी साउनी मगरले पनि बैदेशिक रोजगारीमा गएका श्रीमान्को यादमा छटपटाउन थालेको बताउनु भयो । धनकमाउन गएका श्रीमान् कतै कोरोना भाइरसको शिकार भएर पो पर्कन्छन् कि भन्ने उहाँलाई चिन्ता छ । दिनहुँ जसो फोनमा कुरा हुने, हालखवर थाहाहुने भएपनि श्रीमान् फर्कने दिनको प्रतिक्षामा दिनहरु बिताइरहेको उहाँले बताउनु भयो । “यस्तो रोग आउला भन्ने जानेको भए बरु गिट्टी कुटेर खान्थ्यौ बेलामा बुद्धि पुगेन अहिले किन पठाएँ भनेर पछुतो लागिरहरन्छ” उहाँले भन्नुभयो ।
यस्तै त्रिवेणी गाउँपालिका रोल्पाका मनसुर नेपालीपनि करिव ४ वर्ष पहिलेदेखि बैदेशिक रोजगारीमा हुनुहुन्छ । केहीमहिना अघि छुट्टि मनाएर रोजगारीमा गएका नेपालीको परिवारपनि उहाँको यादमा छटपटाइरहेको छ । “सबै परिवारसंगै भएको दिन कस्तो होला” उहाँकी कान्छी छोरी अस्मिता नेपालीले भन्नुभयो । “कोरोना भाइरस जताततै फैलिएको छ भन्छन् कतै बाबालाई रोगलाग्यो भने त्यो परदेशमा के गर्नुहुन्छ होला ? कस्ले स्याहार गर्ला ? के खानुहोला भन्ने चिन्ता लाग्छ । कोरोना त एड्स भन्दापनि खतरनाक रोग हो भन्ने सुनेकी छु” उहाँले भन्नुभयो ।
उहाँहरु जस्तै रोल्पाबाट रोजीरोटीका लागि बैदेशिक रोजगारीमा जानेको संख्या ठूलो छ । कोरोना भाइरसको सन्त्रास फैलिएपछि परिवारजन आत्तिन थालेका छन् । देशमै रोजगारीको अवस्था भैदिए परिवारजन संग छुट्टिनु नपर्ने उनीहरुले बताए । हाल कुनैपनि कुरा आफ्नो बसमा नभएको हँुदा सबैको कल्याणका लागि भगवान्को पुकारा गर्न बाहेक अरु केही गर्न नसकिने उनीहरुले बताएका छन् ।




