काठमाडौं । सरकारले मंगलबारबाट मुलुक १ हप्ता ‘लकडाउन’ गर्ने निर्णय गरेसँगै कोरोना भाइरस संक्रमण नियन्त्रण र उपचार व्यवस्थापनका लागि तीन सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले टेन्ट क्वारेन्टाइन बनाउनेदेखि थप स्वास्थ्य सामग्री खरीदका लागि बोलपत्र गर्ने भएका छन् ।
नेपाली सेनाले पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट (पीपीई), भेन्टिलेटर, एन–९५ मास्क खरीदका लागि बुधबार बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यी सामग्री तथा उपकरणका लागि सरकारले रू.१० करोड दिएको र सेनाको कल्याणकारी कोषका साथै आन्तरिक बजेटबाट रू ७ करोड व्यवस्था गरिएको बताए ।
सेनासँग ३ हजारको हाराहारीमा रहेको पीपीई सम्बन्धित निकायमा वितरण गरिएको र हाल सेनासँग १५० पीपीई स्टकमा रहेको बताए ।
त्यस्तै, सशस्त्रले कोभिड–१९ को उपचारका लागि स्थापना गरिने आईसीयू वार्डका लागि आवश्यक उपकरण तथा सामग्री खरीद गर्न आइतवार नै खरीद प्रस्ताव आह्वान गरिसकेको छ । नेपाल प्रहरीले सोही प्रस्तावलाई अघि बढाएको छ ।




