कोशी प्रदेश

संखुवासभामा हेप्पडेक्स स्थापना, थर्मामिटरको अभाव

सङ्खुवासभ।नेपाल सरकारले कोभिड–१९ अर्थात कोरोना भाइरस को सम्भावित जोखिमलाई ध्यानमा राखेर देशभर लकडाउन गरेपछि सङ्खुवासभाको जनजीवन ठप्प भएको छ ।

लकडाउनको दोस्रो दिन जिल्लाको पुरानो सदरमुकाम चैनपुर, सदरमुकाम खाँदवारी¸ तुम्लिङटार¸ लगायत जिल्लाका अन्य व्यापारिक बजारहरु पोखरी¸ खराङ¸ मुढे शनिश्चरे¸ नुम¸ मानेभञ्ज्याङ, मादी ओखरबोटे¸ बाह्रविसे¸ लगायत शहरी क्षेत्रहरु ठप्प देखिन्थे । बजारका पसल¸ होटल¸ कलकारखाना¸ उद्योगधन्दा¸ व्यापार व्यवसाय समेत ठप्प थिए ।

बजार लगायत क्षेत्रमा स्वास्थ्यकर्मी¸ सुरक्षाकर्मीहरुको कडा निगरानीका साथ बाक्लो उपस्थिति देखिन्थ्यो । जिल्ला भित्रका सबै सडकहरुमा साना तथा ठूला सवारी साधनहरुसमेत ठप्प थिए । सरकारले चैत्र ११ गतेदेखि चैत्र १८ गते सम्मका लागि गरेको लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला स्थित सुरक्षा निकायहरुले सर्वसाधारण जनताहरुलाई अत्यावश्यक काममा मास्क लगाएर जाने र तुरुन्त फर्कन सुरक्षाकर्मीले निर्देशन गरेको जिल्ला प्रहरी कार्यालय खाँदवारीका प्रमुख मिमबहादुर लामाले जानकारी दिए। प्रमुख लामाका अनुसार आज विहान खाँदवारी, मानेभञ्ज्याङ, तुम्लिङ्टार, चैनपुर नगरका चैनपुर बजार¸ खराङ¸ पोखरी सहित नगरका हरेक टोल वस्तीसम्म पुग्ने गरी जनचेतनामूलक सन्देश सहित लकडाउनको सूचना सुरक्षाकर्मीको अगुवाइमा सूचना प्रवाह गरिएसँगै अत्यावश्यकीय काममा बाहेक घरबाट बाहिर ननिस्कन सबै जिल्ला भित्रका नागरिकहरुलाई आग्रह गरिएको छ । आज तरकारी पसल, खाद्यान्न पसल, पेट्रोल पम्प, स्वास्थ्य संस्था बाहेक सबै जिल्लामा ठप्प रहेको देखिन्छ । जिल्लाका हरेक ठाउँमा स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान अन्तर्गत कार्यरत सुरक्षा निकाय, सेनालाई उच्च सतर्कताका साथ तयारीमा राखिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए।

प्रजिअ दुलालका अनुुुसार आजै कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखेर खाँदवारी नगरपालिकाको अगुवाइमा तुम्लिङ्टारको कत्ले भञ्ज्याङ, तुम्लिङ्टार एयरपोर्ट र हेलुवा वेसीँमा स्वास्थ्य सहायता कक्ष सहितको हेल्प डेस्क स्थापना गरिएको छ । यसैगरी चैनपुर नगरपालिकाले यस अघिनै पिलुवा नाका, चैनपुरको बसपार्क क्षेत्र र सभाखोला नाकामा स्वास्थ्य सहायता कक्ष सहितको हेल्प डेस्क स्थापना २ दिन अघि गरिसकेको छ । यसैगरी पाँचखपन नगरपालिकाले समेत नगरप्रवेश नाका बडरेनी नाका र हेवाखोला नाकामा स्वास्थ्य सहायता कक्ष सहितको हेल्प डेस्क स्थापना गर्न लागि तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठले जानकारी दिए् ।

जिल्लाका हरेक स्वास्थ्य संस्थाहरुमा मास्क, सेनिटाइजर, सावुन पानीले हात धुने व्यवस्था बाहेक अन्य प्रविधि जिल्ला जनस्वास्थ्य कार्यालय खाँदवारी बाहेक अन्यत्र उपलबध हुन नसकेको चैनपुर नगर स्वास्थ्यशाखा प्रमुख नरबहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कोरोना भाइरसको लक्षण मापन गर्ने थर्मोमिटर अहिलेसम्म स्वाथ्यकर्मीहरुलाई दिन नसकिएको स्वीकार गर्दै देश नै लकडाउनका कारण आफूहरुले अर्डर गरेको सामग्री जिल्लाका स्थानीय तहहरुमा ल्याउन नसकिए र जतिसक्दो चाँडो ल्याउने तयारी भइरहेको समेत श्रेष्ठले जानकारी दिए । जिल्लाका सबै स्वास्थ्य संस्था, स्वास्थ्य सहायता कक्षमा यो समाचार तयार पार्दासम्म यस प्रकृतिका विरामी देखा नपरेको जिल्ला जनस्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *