काठमाडौं । काठमाडौको दक्षिणकाली–४, बाँसबारीमा खुकुरी प्रहारबाट बृद्ध दम्पत्ति गम्भीर घाईते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार आफ्नै नातिले हजुर बा हजुर आमालाई खुकुरी प्रहार गर्दा ८१ वर्षीय कृष्ण मगर र ८१ वर्षकै मीश्री मगर गम्भीर घाइते भएका हुन् ।
खुकुरी प्रहारबाट गम्भीर घाइते वृद्ध दम्पतीद्वयको ट्रमा सेन्टरमा उपचार भइरहेको र दुवैजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । १९ वर्षीय विजय मगरको खुकुरी प्रहारबाट छिमेकी ५० वर्षीय कान्छा श्रेष्ठ पनि गम्भीर घाइते भएका छन् । श्रेष्ठको भने मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गरेर फरार रहेका विजय मगरलाई प्रहरीले मंगलबार बिहान एक बजे ललितपुरको बुंगमतीबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार सोमबार अपरान्ह चार बजे घरमै छिमेकी श्रेष्ठसँग गफ गरिरहेका वृद्ध दम्पतीलाई मगरले एक्कासी खुकुरी प्रहार गरेका थिए । घाइते तीनै जनालाई प्रहरीले तत्काल उद्दार गरेर अस्पताल पुर्याएको थियो । सानैमा बुबा गुमाएका विजयलाई आमाले पनि सानैमा छाडेर अर्कैसँग विवाह गरेर गएकी थिइन् । टुहुरो बनेका विजयलाई हजुरबुबा र हजुरआमाले हुर्काएका थिए ।




