ताजा समाचार

सामाजिक दूरी कायम गर्न तरुण दलको अपील  

काठमाडौँ।नेपाल तरुण दलले अति आवश्यकबाहेक अन्य काममा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयसम्म समाजिक दूरी कायम गर्न आह्वान गरेको छ ।

विगत केही समयदेखि विश्व समुदाय कोभिड–१९ सँग लडिरहेको छ । नेपालले पनि कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न आवश्यक तयारी गरिरहेको छ । यो परिस्थितिमा सम्बन्धित निकाय, आम नागरिक र सरकारले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत भई सङ्क्रमण हुनबाट आफू जोगिई अरूलाई पनि जोगाउन तरुण दलले सबैमा अपील गरेको छ ।

तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले आज एक विज्ञप्तिमार्फत विभिन्न कामका लागि मुलुकबाहिर गएका सम्पूर्ण नेपाली नागरिकलाई जो जहाँ हुनुहुन्छ, केही समयका लागि सुरक्षित तरिकाले सोही ठाउँमा बसिदिनुहुनसमेत अनुरोध गरेका छन । साथै उनले सामाजिक सञ्जाल, अनलाइन समाचारलगायत अन्य समाचारका माध्यमबाट अफवाह फैलिने खालका समाचारभन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन ।

हाल ठूला तारे होटलहरु बन्द अवस्थामा रहेका हुनाले होटल सञ्चालक निकायसँग आवश्यक सल्लाह गरी उक्त होटलहरु आइसोलेशनका लागि तयारी अवस्थामा राख्न सकिने तरुण दलको सुझाव छ । अध्यक्ष बस्नेतले धर्मशाला, पार्टी प्यालेस, साना र मझौला होटल, तालीम केन्द्र र पायक पर्ने अन्य स्थललाई क्वारेन्टाइनको प्रयोगका लागि सम्बन्धित निकायसँग सल्लाह गरी आवश्यक कार्य तत्काल अघि बढाउन माग गरेका छन ।

बजारमा मास्क, औषधि, स्यानिटाइजर, खाद्यान्न, ग्यासलगायत अन्य दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी देखिन थालेको उल्लेख गर्दै तरुण दलले कृत्रिम अभाव र कालोबजारी गर्नेहरु पत्ता लगाई कडाभन्दा कडा कारवाही गर्न तथा जनताका न्यूनतम् सेवासुविधाका वस्तुको उपलब्धतामा सहजता कायम गर्न माग गरेको छ ।

तरुण दलले स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका लागि प्रोत्साहनस्वरुप थप सेवासुविधामा प्रबन्ध गर्न र दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने वर्गको दैनिक जीवन निर्वाहका लागि आवश्यक प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *