कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आकस्मिक बाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन सर्वसाधारण नागरिकलाई आह्वान गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको समन्वय बैठकले मध्यराती देखि नै लागु हुने गरी दैनिक उपभोग्य बस्तु तथा उद्दार र राहतमा संलग्न यातायात बाहेक अरु सबै प्रकारका पसल, व्यवसाय, उद्योग, कलकारखाना समेत अर्को सूचना प्रकाशन नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भने “कफ्र्यु आदेश जस्तै हो, सूचनाको बर्खिलाप बिनाकारण घर बाहिर निस्किएको पाइएमा सुरक्षाकर्मी तथा अधिकार प्राप्त अधिकारीले जाँचबुझ गरी कानुन बमोजिम कारबाही गर्ने निर्णय भएको छ ।”
त्यसैगरी, बजार अनुगमनलाई तीब्रता दिइने, सीमा नाकामा रहेका सबै प्रकारका मदिरा पसलहरु तत्काल बन्द गराउने लगायतका निर्णय पनि भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । उनका अनुसार, गड्डाचौकी नाका बाहेक कञ्चनपुरका अन्य सबै नाका शनिबार देखि नै बन्द गरिएको र गड्डाचौकी नाका पनि यही चैत्र ११ गते मंगलबार बिहान ७ बजे देखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको हो ।
हाल कोरोना संक्रमणको त्रास आएको विसु पर्वका कारण समेतले घर फर्कने नेपालीहरुको अधिक भीड गड्डाचौकी नाकामा देखा परिरहेको अवस्थामा तत्कालै नाका बन्द गर्दा पर्नसक्ने अप्ठ्यारोलाई मध्यनजर गरी मंगलबार बिहान ७ बजेसम्मका लागि पैदल यात्रीहरुका लागि नाका खुल्ला रहने र त्यसपछि नाका पूर्ण रुपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिएका छन् ।




