ताजा समाचार

कोभिड–१९ : नागढुङ्गामा ‘हेल्थ डेस्क’ स्थापना

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखेर काठमाडौं उपत्यका भित्रिने मुख्य प्रवेशद्वार नागढुङ्गामा सहायता कक्ष स्थापना गरिएको छ । चन्द्रागिरि नगरपालिकाको आयोजनामा स्थापना भएको उक्त स्वास्थ्य सहायता कक्ष आज बिहान चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गरे ।

नागढुङ्गामा स्वास्थ्य सहायता कक्षको स्थापनासँगै उपत्यका भित्रिने सवारी साधनका चालक, सहचालक तथा यात्रुको जाँचमा सहयोग पुग्ने भएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरीले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर उपत्यकाको प्रमुख नाका नागढुङ्गामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको बताए । सार्वजनिक बसमा एकैपटक धेरै यात्रु ओहोरदोहोर गर्ने भएकाले ज्वरोलगायतका विभिन्न रोग परीक्षणका लागि स्वास्थ्य सहायता कक्षमा सहयोग पुग्ने उनले बताए ।

चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले स्वास्थ्य सहायता कक्ष स्थापनासँगै चार समूह बनाएर २४सै घण्टा यात्रु, चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्ने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले स्वास्थ्य सहायता कक्षको स्थापनासँगै काठमाडौं भित्रिने तथा बाहिरिने यात्रुको स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने बताए । चन्द्रागिरिले स्वास्थ्य सहायता कक्षमा बस्नका लागि १५ जना स्वास्थ्यकर्मीसमेत परिचालन गरिसकेको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *