काठमाडौं। काठमाडौँ महानगरपालिकाले कोभिड– १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रियसभागृहमा केन्द्रीय सहायता कक्ष स्थापना गरेको छ । आफू परिवार वा आसपासमा कसैलाई भाइरस सङ्क्रमणको शङ्का लागेर, अब के गर्ने भन्ने थाहा नपाएकालाई टेलिफोन परामर्शका लागि कक्ष स्थापना गरिएको प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिए।
यस सहायता कक्षबाट कारोना रोगबारे जानकारी दिने, कोही सङ्क्रमण भए अस्पतालसम्म लानका लागि सहयोग गर्ने, अस्पताल र बिरामीसँग समन्वय गरेर उपचारका लागि सहजीकरण गर्ने काम हुनेछ । प्रमुख ढकालका अनुसार कामपाको हटलाइन पनि यसै स्थानबाट सञ्चालन हुनेछ । बिहीबार बसेको बसेको कार्यपालिकाको आकस्मिक बैठकले हटलाइन टेलिफोन सेवा २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
कार्यपालिका बैठकले भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि रु १० करोडको आकस्मिक कोष स्थापना गर्ने, केन्द्र र वडास्तरमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामग्री, प्रचार सामग्रीसहितका सहायता कक्ष स्थापना तथा सञ्चालन गर्नेलगायत निर्णय गरेको थियो । आज महानगरका प्रमुख विद्यासुन्दर शाक्यले एक अपिल जारी गर्दै सङ्क्रमणको आशङ्का लागे हटलाइन ११८० मा सम्पर्क गर्न, भीडभाड नगर्न अनुरोध गरेका छन ।
त्यस्तै महानगरकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठले महानगरमा अत्यावश्यकीय सामग्रीमा कालोबजारी नियन्त्रण गर्न अनुगमन कार्यलाई निरन्तरता दिइने बताइन । सहायता कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याइएको हो । अहिले विश्वमा नै कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले कामपाले पनि सजगकता अपनाएको छ ।




