काठमाडौं।विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ (कोरोना) भाइरसबाट बच्न सरकारले मुलुक अघोषित रुपमा ‘लकडउान’ गरेको छ । स्कूल, कलेज, भीडभाड हुने सबै क्षेत्रमा कडाइ गर्ने, पार्टी प्यालेस बन्द गर्ने र २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको लगत्तै सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न नेपाल–भारत सीमा क्षेत्रमा थप कडाइ गर्ने निर्णय गरेपछि मुलुक अघोषित लक डाउनतर्फ उन्मुख भएको हो ।
राजनीतिक दलका शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन भने सरकारी कार्यालयमा मास्क विना प्रवेश निषेध गरी संवभाति क्षति न्यूनिकरणमा लागिएको छ । सरकारले उच्च स्तरीय संयन्त्र बनाएर अनुगमनको काम शुरु गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समिति, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित विभिन्न पक्षको बैठकले नेपाल–भारतबीचका वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, कञ्चनपुरको महेन्द्रनगरस्थित बनबासा र झापाको काँकडभिट्टाबाहेक बाँकी सबै नाकामा कडाइ गर्ने निर्णय गरिसकेको छ ।
चारवटाबाहेक अन्य नाकाबाट आवतजावत केही समयका लागि बन्द गर्न गृह मन्त्रालयले प्रस्ताव गरिसकेको छ । भैरहवाबाट ६० किलोमिटर पर भारतीय गाउँमा ६ जनालाई कोरोना संक्रमण देखिएको सन्दर्भ जोडेर भारततर्फका सबै नाकामा तत्काल कडाइ गर्ने निर्णय गरेको हो नेपाल र भारतका परराष्ट्र मन्त्रालयका अधिकारीबीच यस विषयमा छलफल भएको छ । आवतजावत र अत्यावश्यक सामग्री ल्याउन अन्य केही नाका पनि खुला गर्ने विषयमा नेपाल र भारतका अधिकारीबीच छलफल भइरहेको छ । खाद्यान्नलगायतका सामान ढुवानीका लागि भने सबै नाका खुला रहनेछन । बैठकमा नेपालका पूर्वीभन्दा पश्चिम नाका बढी संवेदनशील रहेको विश्लेषणसहित पश्चिम क्षेत्रका नाकामा बढी कडाइ गर्ने निर्णय भएको थियो।
‘पश्चिम नेपालका धेरैजसो मानिस रोजगारीका लागि भारत जाने गरेको र त्यहाँबाट फर्किंदा नेपालमा संक्रमण फैलिनसक्ने आशंका गरिएको हो’, मन्त्रालय स्रोतले भन्यो, ‘भारतमा रोजगारीका लागि जाने नेपाली पनि संक्रमित हुने सम्भावना बढेको छ । त्यसकारण पश्चिम नेपालका सीमा नाकामा कडाइ गर्न आवश्यक भएको हो । ’ गृह मन्त्रालयमा बसेको बैठकमा ४ मन्त्री, २१ मन्त्रालयका सचिव र सुरक्षा अधिकारीहरू सहभागी थिए । बैठकले नेपाल–भारतका सीमा नाकामा कडाइ गर्न सबै प्रकारका सावधानी अपनाउने निर्णय गरेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । यसका लागि स्थानीय प्रशासनसँग समन्वय गर्न बैठकले निर्देशन दिएको छ । स्थानीय तहका सबै सरकारले आफ्नो गाउँपालिकमा वा नगरपालिकाभित्र विदेशी नागरिकलाई हेल्थ रिपोर्ट लिएर मात्रै आउन आग्रह गरेका छन् । प्रदेश तथा संघीय सरकारले नागरिकलाई सचेत गराउन थालिसकेका छन् ।
कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । यो व्यवस्था २०७६ चैत ७ गते (आज)मध्यरातदेखि लागू हुनेछ । प्रतिबन्धित देशका नागरिक मात्र होइनन, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपालीलाई समेत नेपाल आउन रोकिनेछ । साथै, प्रतिबन्ध लगाइएका देशलाई ट्रान्जिट बनाएर पनि नेपाल आउन पाइनेछैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा कुल ६६ मुलुकका नागरिक र त्यहाँबाट आउने जुनसुकै मुलुकका नागरिकलाई समेत प्रतिबन्ध लागेको छ । सरकारले बुधवार गरेको निर्णयअनुसार प्राधिकरणले उडान व्यवस्थापन गर्न एयरलाइन्स कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणका अनुसार यूरोपका ४५ देशबाट नेपाल आउन रोक लगाइएको छ । पश्चिम एशिया र खाडीका १९ देशका साथै जापान र कोरियाबाट पनि आउन पाइने छैन ।




