डडेल्धुरा। डडेल्धुराको प्रशिद्ध महाभारत वनक्षेत्रमा आधा दर्जन गाई मृत भेटिएका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ स्थित देउपाल समुदायिक वनमा आधा दर्जन गाई पासो बनाई हत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । देउपाल सामुदायिक वनको भिरालो क्षेत्रमा ग्याविन तारले पासोमा झुण्ड्याएर मारिएका आधा दर्जन गाइको कंकाल भेटिएको हो ।
महाभारत वन क्षेत्रमा पर्ने सो सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा सल्लाको रुखमा तारले बाँधी झुण्ड्याइएको अवस्थामा गाईका कंकला भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दधिराम न्यौपानेले बताए । करिब एक साता अघि गाईको हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान सुरू गरेको छ । पाँच वटा गाई रुखमा झुण्ड्याइएको अवस्थामा र एउटा गाईको बङ्गारा भेटिएको छ भने गाई मार्नका लागि बनाइएको ग्याविन तारको दुई वटा खाली पासो समेत भेटिएका छन् । मारिएका गाईको उमेर दुई वर्ष मूनि रहेको पशुसेवा प्राविधिकहरुले जनाएका छन् । स्थानीयले जानकारी गराएपछि बिहीबार घटना सार्वजनिक भएको हो ।
गन्यापधुरा गाउपालिका अध्यक्ष नबलबहादुर मल्लले आफुले जंगलमा गाईको कंकाल भेटिएको भन्ने खबर सुनेकाले यस बिषयमा बिस्तृत जानकारी लिने बताए । खबर पाएलगत्तै विस्तृत जानकारी लिन वडा नम्बर १ का वडाध्यक्ष चेतराम भट्टलाई घटनास्थलतर्फ पठाएको उनले जानकारी दिए । गाई हिन्दु धर्मावलम्बिहरुको आस्थाको जनावरसंगै नेपालको राष्ट्रिय जनावर भएकाले जंगलमा लगी पासो लागाई हत्या गरिएको खुले जो कसैलाई पनि कानुन बमोजिम कार्वाहीको माग गर्ने उनको भनाई छ । हिन्दु परम्परामा कुनै पनि पुजाआजा गर्दा गाईको गहुत, गोबार आवश्यक पर्ने र लक्ष्मीको रुपमा पुजा आजा गरिने गाईको ग्याबिङ्ग तारले रुखमा बाँधी भिरालो स्थानमा हत्या गरिएको अवस्थामा कंकाल भेटिएपछि हिन्दु धर्मको अस्तित्वमाथि शंका उत्पन्न भएको छ । पछिल्लो समय छाडा गाई छोड्नेको लहर पहाडी गाउ घरमा पनि मौलाउदै गएको छ । छाडा गाई गोरुले दिनहु किसानका अन्न बालि खाएर सखाप पनि पार्ने गरेका छन् । गाईले दुध दिन छोडेपछि गाईलाई गाउँभन्दा टाँढाको वन जंगलमा पु¥याई छोड्ने चलन यस अघि नै भित्रिएको थियो ।




