ताजा समाचार

सतुंगलबाट आठ ट्रक सर्जिकल मास्क बरामद

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला कालाबजारियाले लुकाएर राखेको आठ ट्रक सर्जिकल मास्क प्रहरीले बरामद गरेको छ । काठमाडौं सतुंगलको दुई वटा घरमा रहेको गोदामबाट प्रहरीले सो मास्क बरामद गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार ती दुई गोदामबाट प्रहरीले आज विहान मास्क बरामद गरेको हो ।
महानगरिय प्रहरी परिसरको टोलीले चन्द्रागिरी नगरपालिका १० विष्णुदेवीमा रहेको गोदामबाट ती मास्क बाहिर निकालेको डिएसपी बोगटीले जानकारी दिए । उनका अनुसार ती मास्क रोहित श्रेष्ठको घरमा रहेको गोदाममा १७५ वटा बोरामा राखिएको थियो । बरामद गरेको मास्क लैजान लैजान आठवटा ट्रक प्रयोग गरेको थियो । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको रोहवरमा गोदाम खोलेर मास्क बाहिर निकालिएको हो । त्यहाँ मास्क लुकाइएको आइतबार थाहा पाएर गोदाम सिलबन्दी गरेको थियो । काठमाडौंको कपनमा एक लाख ६८ हजार थान मास्क सहित अजिम बक मियाँ र सज्जनकुमार रेग्मी पक्राउ परेका थिए ।
उनीहरुलाई मास्क उपलब्ध गराउने सुरज कुमार गोयल र सुवास महेश्वरी भने फरार रहेका छन् । उ गोयल र महेश्वरी दुवैजना भारतीय नागरिक भएको प्रहरीले जनाएको छ । अजिम बक र सज्जनकुमारले उनीहरुसँग मास्क किनेका थिए । बढि नाफा खान पाइन्छ भन्दै प्लाष्टिक पसल चलाउने अजिम बक र फोटो स्टुडियो चलाउने सज्जनकुमारले कालोबजारीमा मास्क किनेका थिए । तर, प्रहरीले उनीहरुलाई फन्दामा पारेको थियो । त्यसपछि प्रहरीले गोयल र महेश्वरीको गोदाम पत्ता लगाएर सिल गरेको थियो । बरामद गरिएको मास्क महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । प्रहरीले बोरा र डब्बा संख्याका आधारमा निकालेको प्रारम्भिक हिसाब अनुसार आठ लाख ४० हजार मास्क बरामद भएको छ । प्रहरीले आइतबार कपन र शनिवार डल्लुबाट कालोबजारीका लागि लुकाइएका मास्कसहित ११ जनालाई पक्राउ गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *