नेपाल सभ्य संस्कृतिको उद्म स्थल हो । नेपालको संस्कृतिले यतिबेला विश्वभर स्थान पाएको छ । नेपालमा आदरभाव झल्काउन प्रयोग गरिने ‘नमस्ते’ संस्कृति विश्वव्यापी रुपमा प्रचलित बनेको छ । विश्वभर अहिले अभिवादन आदानप्रदान नमस्तेमार्फत गरिन थालेको छ । नमस्तेको लोकप्रियताले नेपाली संस्कृतिको महत्व विश्वव्यापी बनेको छ । हुनत भारतले नमस्ते आफ्नो संस्कृति भएको दावी गरिरहेको छ । तर, यसमा भारतको भन्दा नेपालको कानून तर्कसंगत हुन्छ ।
सदाचार, सद्व्यवहार र सद्बिचार नैतिकताकै अर्का रुप हुन । यसले कुनै काम कुरा ठीक वा बेठिक के हो भनी छुट्ट्याउने क्षमता राख्दछ । कतिपय विद्वानहरुले अनुशासन र नैतिकतालाई एकै रुपमा व्याख्या गरेका छन । यो समाजको जनजीवनको नियम पनि हो । कतिपयले नैतिकतालाई आदर्शवादी कुरा भनी उडाउने पनि गर्दछन । आदर्शवादी सोच त्याग्नु पर्छ भन्ने नेताहरुको पनि कमी छैन । नैतिकतालाई सर्वोपरि मान्ने पूर्वीय दर्शनबाट अनुप्रेरित हामी पश्चिमाहरुका किन प्रतिकूल व्यवहारलाई अँगालिरहेका छौ ? यसलाई बहसको बिषय बनाउने कि ?
बी पी कोइरालाले राजनीति र नैतिकताको सम्वन्धमा साथीहरुलाई लेख्नु भएको पत्रमा साथीहरूमा उत्कर्ष र संकट, दुवै कालमा नैतिकताको अभाव भयो भने त्यसको ह्रास निश्चित छ । राजनीति र नैतिकता दुई भिन्न तत्व हुन् र सफल राजनीतिका लागि नैतिकताको आश्रय लिनु आवश्यक छैन भन्ने एकथरि विचार तपाईंहरूले पनि अवश्य नै सुन्नुभएको होला । यस विचारबाट अलि बढ्ता प्रभावित भएका कसै–कसैको भनाइ त के पनि छ भने सफल राजनीतिका लागि नैतिकता वाधक मात्र हुन्छ । अर्को थरिको भनाइ के छ भने नैतिकता विनाको राजनीति सर्वथा पापाचार मात्र हो । एउटा विचारमा नैतिकताको अभावलाई नै राजनीतिक सफलताको पुँजी भनिएको छ । त्यहाँ यसमाथि आवश्यकताभन्दा ज्यादै बढी ध्यान दिइएको छ ।
राजनीति भनेको मोक्षको मार्ग होइन । पार्टी मुमुक्षुहरूको दलजस्तो निस्पृह र निर्विकल्प हुन सकेन भनेर कसैले गुनासो गर्दछ भने त्यो उसको मूर्खता हो । मेरो भनाइको तात्पर्य के हो भने माथिका नैतिकताका बारेका दुबै दृष्टिकोण अतिवादका उदाहरण मात्र छन् । राजनीति र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको उल्लेख छ ।
साधारण जीवनमा नैतिकताको स्थान भए जस्तै राजनीति पनि जीवनकै एउटा भाग भएको हुनाले नैतिकता विनाको राजनीति निरर्थक र अलिनो हुन्छ । र, त्यसो हुनाले अग्राह्य हुन्छ । हामीले साथीहरूबीच नै असत्यको प्रचार गर्र्यौं । गैर–इमान्दार भएर काम गर्र्यौं र आपसमा अविश्वास गर्र्यौं भने हामी राजनीतिक कार्यकर्ताहरूको संघर्षमय शुष्म जीवनको संवल नै के रहन्छ र ? नैतिकताका बारे ठूलो भाषण दिने मेरो इच्छा छैन । मनुष्य आफैं एउटा अत्यन्त कमजोर र निरीह प्राणी हो । तर कस्तै संकटका अवस्थामा पनि हामीले यी मानवोचित गुणहरूलाई भुलेनौं भने घोर अन्धकार र निरासाका अवस्थामा पनि यसको क्षीण प्रकाशले हामीलाई जीवित र उल्लासमय बनाइराख्ने छ ।
अर्को एक ठाँउमा बीपीले मेरो बिचारमा राजनीति भनेको कुनै महान बिषय होईन , कुनै क्लिष्ट दर्शनशास्त्र होईन । यो छल,कपट, दाउ, पेच पनि होइन । यो मनमा एउटा कुरा छ, मुखले अर्को बोल्ने कुरा पनि होइन । राजनीति भनेको त्यो होइन । तपाईले परिवारलाई चलाउन सक्नुहुन्छ भने, घरमा धेरै मानिस छन भने,त्यो चलाउदाको अवस्थामा तपाईको जो नैतिकता छ , त्यै नैतिक आधार देखाउनु पर्छ देशलाई चलाउदा वा देशलाई चलाउने अभिभार लिन खोज्दा , भन्नु भएको छ ।
मलाई सीके प्रसाईका लेखहरु पढन रमाइलो लाग्छ किनभने उहाँ आफ्नो कथनलाई सटिक उदाहरण दिएर पुष्टि गर्नु हुन्छ । यो उहाँको बिशेषतानै हो जस्तो लाग्छ । उहाँले पूर्व र पश्चिमको राजनीतिक नैतिकताको चर्चा गर्दा बेलायती प्रधानमन्त्री मार्गरेटसँग सम्बन्धित एक दृष्टान्त याद आउँछ । श्रीमति थिएचरका पति व्यपारी मात्र हुनुहुन्छ । छोरा पनि त्यहि व्यपारमा हुनुहुन्छ । ३/४ बर्ष अघि पत्रिकामा छापियो कि उहाँका छोराले केहि बर्ष अघिदेखि आय कर तिर्नु भएको छैन । जव श्रीमति थिएचरले यो सम्वाद अन्य पत्रिकाहरुमा पढनु भयो । उहाँ अन्यन्त चिन्तित हुनुभयो र राष्ट्रका सामू आफ्नो सफाई दिदै घोषणा गर्नु भयो कि उहाँ निरपराध हुनुहुन्छ र उहाँको परिवारको कुनैपनि सदस्यले भबिष्यमा यस्तो अक्षम्य गर्न नपाओस ।
पश्चिममा मुलुकहरुमा नैतिकताका कुराहरु कम गरिन्छन् । परन्तु व्यवहारमा बढ्दा उतारिन्छन् । पूर्वी समाजहरूमा राजनीतिमा नैतिकताका गफहरु बारम्बार गरिन्छन् तर व्यवहारमा एकदमै कम उतारिन् छन् । पूर्वमा र पश्चिममा कथनी र करनीमा यो फरक कसरी आइरहेछ शोधकर्ताहरुले पर्गेल्न आवश्यक छ ।
मार्गरेट थिएचरलाई आइरन बटरफ्लाई पनि भनिन्थ्यो । संसदको पहिलो कार्यकालका लागि भएको निर्वाचनमा थिएचरको नेतृत्वमा भएको निर्वाचनमा बहुमत प्राप्त गरि प्रधानमन्त्री नियुक्त भईन । फेरि दोश्रो कार्यकालका लागि भएको निर्वाचनको नेतृत्व पनि गरिन । दोश्रो कार्यकालका लागि मात्र होइन , तेश्रो कार्यकाललागि पनि उनीनै प्रधानमन्त्री बनिन । बेलायतको संसदमा बहुमत प्राप्त नेता महिला प्रधानमन्त्री भएको घटना ऐतिहासिक थियो । तर,तेश्रो कार्यकालमो एक बर्ष बित्दानबित्तै उनले प्रधानमन्त्री पदबाट नैतिकताको आधारमा राजीनामा दिन बाध्य भईन ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले २०५० साल चैत्र २६ गते आयोजना गरेको वर्तमान शिक्षा पद्धतिमा नैतिक शिक्षाको आवश्यकता विषयक गोष्ठीमा सर्वोच्च नेता गणेशमान सिंहले दिनुभएको प्रवचनमा — प्रजातन्त्रको मूल्य के ? बोल्ने अधिकार लेख्ने अधिकार आफ्नो मनको कुरा भन्ने अधिकार र प्लेट्फर्म बनाएर भाषण गर्ने अधिकार मूल द्वार हो । यही द्वारबाट पसेपछि मानवअधिकारमा पुगिन्छ । यती विस्तृत छ मानवअधिकार । अनुशासन या नैतिकता भनेको पनि त्यतिनै विस्तृत छ । काम चलाउनका निम्ति समाजमा बस्नु पर्यो । समाजमा शान्तिपूर्वक बस्न पाउनुपर्छ ।
सबभन्दा पहिले समाजमा शान्तिपूर्वक बस्ने आफ्नो काम गरेर समाजलाई योगदान दिने गर्नुपर्यो, शान्तिपूर्वक बस्न अनुशासन र नैतिकता नभई सकिदैन । नैतिकता मानिएन भने समाजमा कहिले सुख शान्ति हुँदैन नैतिकता या अनुशासन भएन भने समाजमा अराजकता फैलिन्छ । सबभन्दा पहिले समाजमा शान्तिपूर्वक बस्ने आफ्नो काम गरेर समाजलाई योगदान दिने गर्नुपर्छ । नैतिकता या अनुशासन भएन भने समाजमा अराजकता फैलिन्छ । पुराण पढ्नुस् समाजमा शान्तिपूर्ण व्यवस्था राख्न पुराणमा कथा बनाएर नैतिकताको पाठ दिएका थिए । नैतिकता र अनुशासनको भरमा सारा संसार चल्या छ । अनुशासन र नैतिकता सबैले मान्नुपर्छ । समाजमा बसेपछि नैतिकता र अनुशासनको पालना नगर्ने हो भने जंगलमा गएर जंगली जानवर जस्तो बस्नुपर्छ । यो समाजमा आएपछि नैतिकता मान्नुपर्छ । नैतिकता भनेको समाजको नियम हो , भनी नैतिकताको सम्वन्ध दिनु भएको अभिव्यक्ति पढ्न पाइन्छ ।
कम्यूनिष्ट नेता मोदनाथ प्रश्रितले एउटा अन्तरवार्तामा दृष्टान्त दिदै राजनीतिमा नैतिकताको बिषय बारे भन्नुभएको छ –राजनीतिमा नैतिक चेतको अभाव छ भन्दै अहिलेको राजनीतिमा नैतिक चेत र मानवीयता हराएको मैले अनुभव गरिरहेको छु । राजनीतिमा उमेर हदको कुरा पनि यसैको एक उपज हो । जसरी हिन्दू संस्कृतिमा हाम्रो उमेर अनुसारको आश्रम व्यवस्था छ । मेरो उमेर छँदासम्म र बल छँदासम्म काम गरेँ, अब तिमीहरु गर भनेर अरुलाई हस्तान्तरण गर्नुपर्ने हो । अझ अहिलेका प्रधानमन्त्री त जेलदेखि नै बिरामी हुनुहुन्छ । अहिले पनि त्यस्तै हुनुहुन्छ । त्यसैले उहाँले नैतिक चेतको आधारमा प्रधानमन्त्री पद छाडेर बस्नुभए पनि राम्रो हुने हो । म त भन्छु, यति समय भएपछि प्रधानमन्त्रीले स्वास्थ्यका कारण अब राजनीतिबाट विश्राम लिँदा पनि राम्रै हुन्छ । अहिले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहेका अध्यक्ष मध्ये केपी ओली शारीरिक रुपले कमजोर हुनुहुन्छ । छोराको मृत्युपछि प्रचण्ड पनि मानसिकरुपले कमजोर हुनुहुन्छ । दुबै कुनै न कुनै अवस्थामा कमजोर भएको अवस्थामा यही भावनाले पनि पार्टीलाई असर गर्छ कि भन्ने मलाई लागेको छ । तर, अब तपाईंहरुले चलाउनुहोस् भनेर छाडिदिनुभए हुने हो ।
संसदमा करीव दुई तिहाई बहुमतको आधारमा प्रधान मन्त्री हुनु भएका ओली दुई बर्षभित्र दुई पटक उपचारका लािग सिंगापुर जानु भयो । हालै दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरि बालुवाटार फर्किने क्रममा चिकित्सकहरुलेनै प्रधानमन्त्री ओली अन्य संक्रमणवाट जोगिए ६ महिना पछिमात्र उहाँको स्वास्थ्य सामान्य हुने भनि गरिएको बिज्ञप्तीको आधारमा उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने माग दवाव उठ्न थालेको छ । नेता मोदनाथ प्रश्रितको भनाईसंग जोडेर हेर्दा मानव नैतिकताको अर्थ र महत्व बुझ्न सकिन्छ ।




