काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ (कोरोना)विरुद्ध कार्ययोजना तय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं बोलाएका छन् । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम नियन्त्रण र पूर्वतयारीबारे मुख्यमन्त्रीहरूसँग बैठक तय गरिएका उनीहरुलाई काठमाडौ बोलाइएको हो ।
“सबै प्रदेशमा अहिलेसम्म भइरहेका काम र अबको रणनीतिबारे छलफल केन्द्रित हुनेछ“, प्रधानमन्त्री कार्यालयले निकट स्रोतले भन्यो । मुख्यमन्त्रीहरूसँगको बैठकमा कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरिरहेका काम र तिनका प्रभावबारे स्वास्थ्य मन्त्रालयले प्रतिवेदन प्रस्तुत गर्दैछ।त्यस्तै प्रदेशस्तरमा गरिएका पूर्वतयारीका कामबारे पनि मुख्यमन्त्रीहरूले रिपोर्टिङ गर्ने बताइएको छ। यसअघि २९ फागुनमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरस संक्रमण फैलिन नदिन १९ वटा निर्णय गरेको थियो। पाँच वटा अस्पताललाई खाली गराउने सरकारको तयारी छ ।




