ताजा समाचार

कारागार र पशु स्वास्थ्य विधेयक समितिमा

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘कारागार विधेयक, २०७६’ र कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले प्रस्तुत गरेको ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको हो ।

यसैगरी बैठकले अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘धितोपत्रसम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकले ‘अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धिलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि अनुमोदन गरेको छ । गृहमन्त्री थापाले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो ।

काँग्रेस नेता शेर्माको निधनमा शोक प्रस्ताव

प्रतिनिधिसभाको बैठकले नेपाली काँग्रेसका तर्फबाट पाँचथर जिल्ला क्षेत्र नं १ बाट संविधानसभा निर्वाचनमा निर्वाचित सदस्य पूर्णकुमार शेर्माको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद शेर्माको निधनप्रति शोक प्रकट गर्दै प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । पूर्वस्थानीय विकासमन्त्री शेर्माको मिर्गौला रोगको उपचारका क्रममा यही फागुन २८ गते ७६ वर्षका उमेरमा निधन भएको हो ।

विसं २०४८ मा काँग्रेसका तर्फबाट राष्ट्रियसभामा मनोनीत शेर्मा २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । बैठकमा उनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत ७ गते अपराह्न १ बजे बस्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *