काठमाडौं।नेपाली कांग्रेसका नेता पूर्णकुमार शेर्मा लिम्बूको निधन भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय योगदान गरेका शेर्माको ७६ वर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगले ग्रसित शेर्माको ललितपुर स्थित निदान अस्पतालमा निधन भएको नेपाली कांग्रेस पाँचथरका जिल्ला सभापति नरेन्द्र केरुङले जानकारी दिए । अग्रज राजनीतिकर्मी शेर्माको निधनले नेपाली कांग्रेस पाँचथर स्तब्ध भएको सभापति केरुङले बताए । यसै गरी शेर्माको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको क्षेत्रीय सभापति समरबहादुर अधिकारीले बताए । पाँचथर जिल्लाले एक कुशल राजनीतिक अभिभावक गुमाएको अधिकारीमा दुख व्यक्त गरे ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका शेर्मा पाँचथर क्षेत्र नं.१ बाट २०६४ सालमा निर्वाचित भएका थिए । निश्कलंक छबीका शेर्मा स्थानीय विकास मन्त्री समेत बने । शेर्माले नेपाली कांग्रेस पाँचथरको लामो समय नेतृत्व समेत गरेका थिए । करिव साढे पाँच दशक अघि राजनीतिमा प्रवेश गरेका शेर्मा २०१८ सालमा प्रधानपञ्च, २०२१ सालमा पाँचथर जिल्ला पञ्चायत सदस्य, २०२२ सालमा पञ्चायत जिल्ला उपसभापति र २०२४ सालमा जिल्ला सभा सदस्यको जिम्मेवारीमा रहेका थिए ।
२०२५ सालमा नेपाली कांग्रेसको सदस्यता लिएका शेर्मा २०३६ सालको जनमत संग्रहमा जिल्ला बहुदल प्रचार प्रसार समितिको अध्यक्ष थिए । राजनीतिक संघर्षका क्रममा पटक पटक पक्राउ र थुनामा परेका शेर्माले २०४२ को सत्याग्रहमा सात महिना जेल जीवन समेत विताएका थिए । शेर्माका दुई छोरा र पाँच छोरी छन । जेठी श्रीमतिको निधन भइसकेको छ । उनी कान्छी श्रीमतिसंग बस्दै आएका थिए । शेर्माका छोरी तथा आफन्त काठमाडौं बाहिर रहेकाले पर्सीमात्र अन्त्येष्टि हुने बुझिएको छ ।




