ताजा समाचार

गृहमन्त्रीका भाइले गरे सुटुक्क डिल्लीबजार जेलमा आत्मसर्पण

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले सुटुक्क डिल्लीबजारस्थित कारागारमा आत्मसर्मपण गरेका छन् । उच्च अदालत पाटनले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीको खोजी सूचीमा रहेका उनी गत सोमबार नै कारागारमा पुगेका हुन । डिल्लीबजार कारागारको ‘क’ ब्लकमा उनी थुनामा रहेका छन् ।

डिल्लीबजार कारागारको ‘क’ ब्लक सुविधाका हिसाबले राम्रो मानिन्छ । प्रहरी निरीक्षक बनाइदिन्छु भनी घुस लिएको अभियोगमा अख्तियारद्वारा पक्राउ परेका नेकपाका पूर्वसांसद डिवी कार्की पनि अदालतको फैसलासँगै डिल्लीबजार कारागारको ‘क’ ब्लकमै छन् । सुडान घोटाला भ्रष्टाचार काण्डमा सर्वोच्चद्वारा दोषी ठहरिएका नेपाल प्रहरीका पूर्वआइजिपी रमेशचन्द ठकुरी, श्रीमती हत्याको अभियोगमा अदालतद्वारा जन्मकैद सजाय सुनाइएका सशस्त्रका पूर्वडिआइजी रञ्जन कोइराला पनि कारागारको ‘क’ ब्लकमा नै रहेका छन् ।

गृहमन्त्री थापाका भाइ नरेश पनि अहिले सोही ब्लकमा बस्दछन् । दुई वर्षअघि राजधानीमा भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याकाण्डका मुख्य अभियुक्त समीरमान सिंह बस्नेतसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा थापा पक्राउ परेका थिए ।गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले भारतबाट पक्रेर ल्याउन सफल भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *