काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका चितवन रत्ननगरकार्यसमितिका पूर्वसभापति सम्मरबहादुर मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले आज एक शोेक विज्ञप्तिमार्फत उनको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । पूर्वनगरसभापति मल्लको गए राति काठमाडौंको वीरअस्पतालमा उपचारका क्रममा ५६ वर्षको उमरेमा निधन भएको हो । मल्ल मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । स्व मल्लले कांग्रेसको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
यसैगरी सभापति देउवाले विसं २०१८ मा तनहुँको कोत्रेमा शहीद भएका लालध्वज गुरुङकी धर्मपत्नी अमृता गुरुङको निधनप्रति पनि दुःख व्यक्त गरेका छन् । । अमृता गुरुङको आज भरतपुर महानगरपालिका–१९ स्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।




