काठमाडौं । कोरोना भाइरसको संक्रमण ज्यादा देखिएका केही देशका नागरिकलाई अध्यागमन विभागले नेपाल प्रवेश गर्न अन अराइभल भिसामा रोक लगाएको छ । विभिन्न आठ देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको हो । सो विभागले एक विज्ञप्ति प्रकाशित गरी चीन तथा चीन प्रशासित क्षेत्र, जापान, इटली, इरान, दक्षिण कोरिया, स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई अन अराइभल भिसा बन्द गर्न लागिएको जानकारी दिएको हो ।
नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा नलिइकन आउने नागरिकलाई अन अराइभल भिसा नदिइने प्रावधान लागु गरिएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उल्लिखित देशका नागरिकले अब नेपाल आउनुपर्ने भएमा कोरोना भाइरसको संक्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने छ । यसैबीच युएईमा रोजगारी गर्दै आएका दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखापरेको बुझिएको छ । सोमबार युएईमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा तीमध्ये दुई जना नेपालीमा पनि संक्रमण भएको पाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।




