ताजा समाचार

नेपालका महिलाहरु पतिको चितामा जल्ने युगको अन्त भएको छ –पुन

 रोल्पा। सांसद दीपेन्द्रकुमार पुन सिजलले महिलाहरु जिउदै पतिको चितामा जल्ने युगको अन्त भएको बताएका  छन । आजभन्दा ठीक एक सय वर्ष पहिले नरेन्द्र मल्लको चितामा ३३ वटी रानीहरु जिउदै चढेको दिनको स्मरण गर्दै उनले यस्तो बताएका हुन ।

“समानताको पुस्ता : अन्तगरौं, विभेद र असमानता” भन्ने मूल नाराका साथ सत्प्रयास मिडिया ग्रुप रोल्पाको आयोजनामा  लिबाङमा सम्पन्न कार्यक्रममा पुनले यस्तो बताएका हुन । उनले संसारका महिलाहरुले विभिन्न कालखण्डमा गरेको लामो संघर्षबाट नै महिलाहरुको अवस्थामा परिवर्तन आएको बताए । परिवर्तनका क्रममा आजका दिनसम्म आइपुग्दा नेपालमा पनि विभिन्न पद ओहदामा रही महिलाहरुले जिम्मेवारी सम्हाली रहेको भन्दै पुनले खुशी प्रकट गरे। यसैवीच उनले लैंगिक हिंसा रहित समाज निर्माणमा महिला पुरुष दुबैको उत्तिकै सहभागिता तथा जिम्मेवारी रहने बताए । महिला दिवसको सन्दर्भ तथा समाजमा विद्यमान महिला हिंसाको सन्दर्भलाई जोड्दै पुनले भने “पढ्ने कुरा ठूलो हो, बुझाउने कुरापनि ठूलो हो र आफूले बुझेर अरुलाई बुझाउने कुरा सबैभन्दा ठूलो हो ।” त्यसैले पढेर होस् वा परेर मान्छे चेतनशील बन्नुपर्ने उनकाे सुझाव छ । ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नारी जागरण शिक्षा र सम्मान कार्यक्रममा विभिन्न क्षेत्रमा रही उल्लेखनीय काम गर्ने रोल्पाली महिलाहरुलाई सम्मान गरिएको थियो ।

जस अन्तर्गत चिकित्सा क्षेत्रमा ६ जना, शिक्षा क्षेत्रमा ६ जना, निजामती क्षेत्रमा ५ जना, मानव अधिकारका क्षेत्रमा १ जना, कानून क्षेत्रमा १ जना र समाजसेवा तर्फ १ जना गरी जम्मा २० जना महिलाहरु सम्मानित भएका थिए । विगतका दिनमा महिला दिवसका दिनमा नारा, जुलुस, र्याली र विभिन्न प्रतियोगीताहरु हुँदै आएकोमा यसवर्ष सत्प्रयासको आयोजनामा फरक ढंगबाट प्रेरणादायी कार्यक्रम आयोजना गरिएको भन्दै बक्ताहरुले प्रशंसा गरेका थिए । सम्मानीत महिलाहरुको सफलताको कथाले हलका उपस्थित महिलाहरु निकै उत्त्साहित देखिन्थे । कार्यक्रममा पूर्व सांसद लेखनाथ आचार्य, जिल्ला समन्वय समिति रोल्पाका सदस्य कर्मलाल परियार, रोल्पा नगरपालिकाका नगर उपप्रमुख मनकुमारी घर्तीमगर, सहायक प्रमुख जिल्ला अधिकारी नबराज शर्मा, नेपाल पत्रकार महसंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, प्रहरी नायव उपरिक्षक चित्रबहादुर गुरुङ, सशस्त्र प्रहरी नायव उपरीक्षक कर्णबहादुर बुढामगर, रोल्पा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नबराज आचार्य, वडा नंं २ का अध्यक्ष खिमबहादुर घर्तीमगर, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डीवी घर्तीमगर, नेपाल पत्रकार महासंघ रोल्पाका पहिलो कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, जलजला क्याम्पस लिबाङ रोल्पाका प्रमुख विष्णु आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

काशिराम डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन खेमबु्ढाले गरेका थिए । महिला दिवसका अवसरमा रोल्पा नगरपालिकाको आयोजनामा संचालन हुने भनिएको कार्यक्रम कोरोना भाइरसका कारण स्थगीत गरिएको प्रेस संयोजक देवी गुरुङले जानकारी दिए । दिवसका रुपमा दिवसहरु मनाउनु सचेतना फैलाउन जरुरी हुने सहभागिहरुले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *