ताजा समाचार

कोरोना त्रास : सीमा क्षेत्रमा कडाई गर्ने, एक महिना विद्यालय बन्द गर्ने

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले सीमा क्षेत्रमा कडाई गर्ने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार रक्षा मन्त्रालयमा बसेको बैठकले सीमा नाकाहरुमा क्वारेन्टाइन भवन निर्माण गर्ने तथा सिमाना वारिपारी बैठकहरु गर्ने र स्वास्थ्य जाँच्ने स्थलहरु बढाउने निर्णय गरेको हो । चीनबाट फैलिएको कोरोना भाइरस विश्वभर देखिन थालेको र खुल्ला सीमाना भएको छिमेकी मुलुकमासमेत देखिएकोले विमानस्थल र सीमामा सरकारले सुरक्षा बढाउन लागेको हो ।

बैठकले सीमामा आवगमन कम गर्ने, निकासी नियन्त्रण गर्ने, मास्क र औषधिको आपूर्तिमा समस्या पर्न नदिने गरी उत्पादन बढाउने, भारतबाट औषधि तथा आत्यावश्यक सामाग्री आयात गर्ने निर्णयसमेत गरेको छ ।बैठकले स्वास्थ्य परीक्षणलाई सहज बनाउन स्वास्थ्य मन्त्रायलाई निर्देशन समेत दिएको छ। परिक्षा छिटै सक्न निर्देशन त्यस्तै विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई कोरोना संक्रमण छिटो हुन सक्ने भएकाले छिटो परीक्षा सम्पन्‍न गराउन शिक्षा मन्त्रालयलाई निर्देशन समेत दिएको छ। बैठकले विद्यालयमा ठूलो संख्यामा विद्यार्थी हुने भएकाले त्यहाँबाट कोरोना फैलिन सक्ने जोखिम कम गर्न कम्तीमा एक महिना पठनपाठन बन्द गर्ने तयारी गरेको हो। शिक्षा मन्त्रालयले यसअघि नै चाँडो भन्दा चाँडो विद्यालयको वार्षिक परीक्षा गराउन निर्देशन दिइसकेको छ।

सरकारको निर्देशन अनुसार सरकारी तथा निजी विद्यालयले यही फागुन २८ गतेदेखि नै वार्षिक परीक्षा सञ्चालन गर्दैछन्। कोरोना नियन्त्रण र रोकथामका लागि विश्व बैंकबाट सहायता लिने संक्रमित मुलुकहरुमा स्वास्थ्य सचेतनासम्बन्धी काम गर्ने, प्रदेश सरकार र स्थानीय तहलाई आपूर्ति व्यवस्थाका लागि अनुरोध गर्ने लगायतका निर्णय समेत बैठकले गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *