रोल्पा।रोल्पाको लुंग्री गाउँपालिका वडा नं. १ पाङमा वाल बिबाह अन्त्यका लागि सरोकारवालाहरुले हस्ताक्षर गरेका छन् । एकातिर जिल्लामा बालविवाह अन्तका लागि विभिन्न प्रयासहरु भइरहेको अर्कोतिर वालविवाहका घटनाहरु बढिराखेको अवस्थामा वडाले यस्तो निर्णय लिएको हो ।
बाल विवाह एक किसिमको जघन्य अपराध भएको र यस्ले किशोर किशोरीको शारिरिक, मानसिक, सामाजिक र संवेगात्मक रुपमा असर पार्ने भएकोले वाल विवाह अन्तगर्ने उद्देश्यका साथ अभियान थालिएको वडा अध्यक्ष मति पुनले जानकारी दिए।
उनका अनुसार अवदेखि वडाभित्र बालविवाह गर्ने गराउने व्यक्ति तथा समूहलाई कानून अनुसार कारवाही गर्नुपर्ने, कारवाही गर्दा कुनैपनि व्यक्ति वा समूहले राजनीतिक, नातावादका आधारमा छुट पाउन तथा मिलापत्र गर्ननहुने लगायतका कुरामा जोड दिइने छ । पाङमा यस आवको फागुन ३ गतेसम्म ३६ जनाले बालविवाह गरिसकेका छन् ।
स्ट्रोम फाउण्डेशनको सहयोगमा मानबअधिकार सचेतन केन्द्र (हुरेक)रोल्पाद्वारा सञ्चालित सीडस कार्यक्रम अन्तरगत संवाद केन्द्रहरु र वडा कार्यालय पाङको साझेदारी तथा आयोजनामा बालविवाह अन्तका लागि अन्तरक्रिया कार्यक्रम गरी हस्ताक्षर गरिएको थियो । १ नं. वडाका वडा अध्यक्ष मतिपुनको अध्यक्षता र लुंग्री गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्काको प्रमुख आतिथ्यतामा हस्ताक्षर सम्पन्न भएका हो ।
कार्यक्रमका बक्ताहरुले किशोर किशोरीले बाल्यावस्थामा बालविवाह गरी आफ्नो भविष्य बर्वाद पार्न नहुनेमा जोड दिएका थिए । उनीहरुका अनुसार बालविवाह हुनको मुख्य कारण चेतनाको अभाव हुनु, मोवाईल र सामाजिक सञ्जालको दुरुपयोग गर्नु, स्थानीय मेला व्यवस्थित नहुनु आदि कारणले यस क्षेत्रमा बढिरहेको बालविवाह रोक्नका लागि सरकारले बनाएको कानूनलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने, विद्यालयमा पढ्ने उमेरका किशोर किशोरीहरुलाई मोवाइल दिननहुने, स्थानीय मेलालाई व्यवस्थित गर्नुपर्ने, जाँडरक्सी सेवनलाई व्यवस्थित गर्नुपर्ने, तथा विभिन्न चेतनामुलक अभियान थाल्नुपर्ने बताएका छन् ।
यसैवीच बालविवाह नियन्त्रणका लागि वडाअध्यक्ष मतिपुनको संयोजकत्वमा २१ सदस्यीय वालविवाह नियन्त्रण तथा अनुगमन समितिपनि गठन गरिएको छ । कार्यक्रमका हभागिहरुले यस अन्तरक्रियाले आगामी दिनमा बालविवाह नियन्त्रण गर्नकालागि महत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गरेका थिए भने यस किसिमका कार्यक्रम तथा ऐक्यबद्धताले सामाजिक परिवर्तनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रमख अतिथि दुर्गा बहादुर खडका, शिक्षा अधिकृत पूर्णप्रसाद उपाध्याय, विभिन्न दलका प्रतिनिधहरु, महिला सहायक अधिकृत कल्पना सुवेदी, स्वास्थ्य चौकी पाङका ईन्चार्ज दामोदर सुवेदी, हुरेक नेपालका सीड्स कार्यक्रमका संयोजक सुन्दर पोख्रेल, आधार भूत विद्यालय ऐपेका प्रधानाध्यापक रामबहादुर घर्तीमगर, प्रहरी चौकी सीर्पका ईन्चार्ज नबराज अधिकारी लगायतले आआफ्नो धारणा राखेका थिए । बक्ताहरुले बालविवाह नियन्त्रण गर्न सबैले आ-आफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्नुपर्ने बताएका थिए । संवाद केन्द्रका किशोरी तथा किशोरहरु, स्वावलम्बन समुहका सदस्यहरु, शिक्षकहरु, राजनीतिकदलका प्रतिनिधीहरुको, तथा पाङ प्रहरीको सक्रिय सहभागिता रहेको कार्यक्रमको सञ्चालन वडा सचिव बेदुप्रसाद पाण्डेले गरेका थिए ।




