सुर्खेत । कर्णाली प्रदेश सरकारले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० बाट सुरक्षित रहन नाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्ने भएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कर्णाली भित्रिने मुख्य नाकामा डेस्क स्थापना गरी यात्रुको स्वास्थ्य परीक्षण गर्ने भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालय, सुर्खेतका अनुसार कोरोनाबाट अति प्रभावित उत्तरी छिमेकी मुलुक चीनसँग सीमा जोडिएका हुम्लासहित चार नाकामा ‘हेल्थ डेस्क’ स्थापना गरिनेछ ।
निर्देशनालयका निर्देशक डा रिता भण्डारी जोशीले तिब्बतसँग सिमाना जोडिएको हुम्लाको हिल्सा, ५ नम्बर प्रदेशसँग जोडिएको बबई, सल्यानको कपुरकोट नाकाका साथै सुर्खेत विमानस्थलमा यात्रुको नियमित स्वास्थ्य जाँच गरिने बताए । नाकामा औषधिसहित स्वास्थ्यकर्मी खटिने र यात्रुलाई कोरोनाबारे सचेत गराउने कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।
“हेल्थ डेस्क स्थापनाको सबै तयारी पूरा भएको छ, औषधि र आवश्यक सामग्रीसहित तत्काल हिल्सा नाका पठाउने तयारीमा छौँ”, निर्देशक जोशीले भने “कपुरकोट र बबईमा स्थापना गरिने डेस्कले सचेतनामूलक गतिविधिलाई जोड दिनेछन् ।”
यसैबीच, प्रदेश अस्पतालमा कोरोना भाइरसबाट सङ्क्रमितलाई उपचार गर्न दुई बेडको विशेष कक्ष स्थापना गरिएको छ । एक साताअघि सामाजिक विकास मन्त्रालयका उच्च अधिकारीको बैठकले कर्णालीमा कोरोना भित्रिन नदिन आवश्यक तयारी थाल्न विशेष निर्णय गरेको थियो ।




