काठमाडौं । नेपाल प्रहरीभित्र नोबल कोरोना भाइरसबारे सन्त्रास देखिएको छ । नेपाल प्रहरीले विश्वभरी महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाउने जनाएको छ । सुरक्षा संगठन समूहमा रहने भएकाले सम्भावित खरताबारे समयमै सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका डिआइजी एवं प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले प्रहरी अस्पताल र प्रहरी प्रधान कार्यालयमार्फत स्वास्थ्य आन्तरिक रुपमा स्वास्थ्य सचेतना सुरु गरिएको बताए । उनले भने, ‘विमानस्थल, ट्राफिक चेकिङ र प्रहरीले भिडभाडमा ड्युटी गर्ने सम्भावित स्थानमा मास्क लगाउन भनेका छौं । त्यसबाहेक साबुनपानीले हात घुने, स्वास्थ्यमा समस्या देखिए स्वास्थ्य परीक्षण लगायतको व्यवस्था गरेका छौं ।’सकेसम्म हात नमिलाउन र नमस्ते गर्न समेत निर्देशन दिएको छ ।
चिकित्सकले समेत नमस्ते गर्न सुझाव दिँदै आएका छन् । आन्तरिक रुपमा अभिवादन गर्ने भए पनि कतिपय अवस्थाले सेवाग्राही वा अन्य व्यक्तिसँग हात मिलाउनुपर्ने भए पनि सकेसम्म हात नमिलाउने निर्देशन दिइएको प्रवक्ता क्षेत्रीले बताए । उनका अनुसार कोरोनाकै प्रभावका कारण यही फागुन २३ र २४ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा हुन लागेको सुरक्षा गोष्ठी समेत तत्कालका लागि स्थगित गरिएको छ । देशभर झन्डै ८० हजार प्रहरी छन् ।
नेपाल प्रहरीले प्रहरी कसैलाई रुखाखोकी, ज्वरो देखिएमा तत्कालै जानकारी गराउन र अस्पतालमा गएर चेक गर्न आह्वावन गरेको छ । ‘चेकिङमा केही सरलिकरण भएको छ । मास्क र सेनिटाइजर लगायत सामाग्री प्रयोग गरेर काम गर्न भनेका छौं,’ डिआइजी थापाले भने ।यस्तै कोरोनाकै प्रभावको सबैभन्दा ठूलो असर प्रहरीको मापसे चेकिङमा देखिएको छ । कोरोना संक्रमणको त्रासका कारण ट्राफिक प्रहरीले चेक गर्दै आएको मापसे परीक्षणमा असर परेको हो ।ट्राफिक प्रहरीसँग पर्याप्त मात्रामा ब्रेथलाइजर मेसिन नभएका कारण कैयौं स्थानमा मुखले सुँघेर पनि मापसे चेक गर्दै आएको थियो । सुँघेर गर्ने चेकजाँच तत्काललाई बन्द गरिएको प्रहरीले जनाएको छ ।




