दैलेख । १५ वर्ष पछि पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपी मध्येका एकजनालाई पक्राउ गरी जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि कारागार चलान गरेको छ । पत्रकार थापाको हत्याका मुख्य आरोपी मध्येका ४ जनामध्ये दुल्लु नगरपालिका ६ छिउडीपुसाकोट घर भएका ‘अरुण’ भनिने वमवहादुर खड्कालाई १५ वर्ष पछि जिल्ला प्रहरी कार्यालय दैलेखले मंगलवार जिल्ला अदालतमा उपस्थिती गराएपछि जिल्ला न्यायधिस दण्डपाणी लामिछानेको ईजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
जिल्ला न्यायधिस लामिछानेको आदेश पछि मंगलवार नै खड्कालाई पुर्पपक्षका लागी जिल्ला कारागार चलान गरिएको हो । खड्का हालसम्म फरार रहेका थिए । माओवादी कार्यकर्ता खड्कालाई पत्रकार थापाको हत्यामा संलग्न रहेको आरोपमा कर्तव्य ज्यानमुद्धा जिल्ला अदालतमा दर्ता भएको थियो । उनलाई पक्राउ गरी प्रहरीले अदालतमा उपस्थित गराएपछि पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला अदालत दैलेखका सुचना अधिकारी विनोद आचार्यले जानकारी दिए । जिल्ला अदालत दैलेखका सुचना अधिकारी आचार्यका अनुसार प्रहरीले खड्कालाई जिल्ला अदालतमा उपस्थिती गराएपछि मुल्तवीमा रहेको कर्तव्य ज्यानमुद्धा जगाई मंगलवार नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । सूचना अधिकारी आचार्यले पत्रकार थापाको हत्यामा मुछिएका खड्काको पुर्पक्षमा राखेर अनुसंधान र वयान गरिने वताए ।
हत्या आरोपी खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मंगलवार विहान जिल्ला ल्याई पु¥याएको जनाएको छ । उनलाई कैलाली जिल्लावाट पक्राउ गरि अड्डासार गर्दै दैलेख ल्याईएको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिवहादुर ओलीले जानकारी दिए । जिल्ला अदालतवाट फरार सुचीमा रहेका खड्कालाई ल्याईएको दिन मंगलवार नै जिल्ला अदालतमा उपस्थित गराईएको डिएसपी ओलीले वताए ।
जिल्ला अदालत दैलेखले २०७१ साल मंसीर २१ गते फरार भनिएका खड्का सहित ४ जनालाई हाजिर भएका वा पक्रियका वखत वा अवधी पुगेपछि जगाई कारवाही र किनारा गर्ने आदेश गरेसँगै फरार रहेका उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । तत्कालिन जिल्ला न्यायधिस डिल्लीरत्न श्रेष्ठको ईजलासले उनीसँगै माओवादी कार्यकर्ता ‘मुक्ती’ भनिने वमवहादुर खड्का, भक्तिराम लामिछाने र केशव खड्काको हकमा सो फैसला गरेका थिए । सो फैसला पुनरावेदन अदालत सुर्खेतले सदर गरेको थियो ।
२०६१ साल साउन २७ गते नौमुलेको द्धारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटपिटपछि सास रहँदै खाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेपछि स्थानिय पत्रकारको लामो खोजी र संघर्षपछि २०६५ सालको वर्षायाममा नौमुले गाउपालिका ३ ९साविकको द्धारी गाविस १० मा रहेको नेरा निमावि नजिकको जंगलवाट उत्खनन्पछि उनको कंकाल फेला परेको थियो ।




