ताजा समाचार

रोग प्रतिरोधात्मक क्षमतामा गडबडी आएपछि उत्पन्न हुने रोग नै बाथराेग हाे

हाम्रो शरीरमा विभिन्न प्रकारका रोगले समय समयमा हामीलाई आक्रमण गर्छ । त्यस्ता रोगहरुका बारेमा थाहा नहुँदा हामीहरु आत्तिने गर्छौँ । समयमै रोगको पहिचान नहुँदा बेला–बेलामा समस्या आइपर्छ । हाम्रो शरीरमा देखापर्ने विभिन्न प्रकारका रोगहरुमध्ये बाथ पनि एक हो । खासगरी मानिसको शरीरमा हुने रोग प्रतिरोधात्मक पद्धतिमा भएको असन्तुलनका कारण यो रोग लाग्ने चिकित्सकहरुको भनाइ छ । यसै सन्दर्भमा हाल गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रमा कार्यरत दिपा शाह बाथरोगका क्षेत्रमा लामो समयदेखि क्रियाशील  हुनुहुन्छ । बाथरोग विशेषज्ञ शाहसँग रामचन्द्र दुलालले गरेको कुराकानी :

 बाथरोग कस्तो प्रकारको रोग हो ?

शरीरमा रोगसँग लड्न सक्ने ‘इम्युन सिस्टम’ अर्थात् रोग प्रतिरोधात्मक क्षमतामा गडबडी आएपछि उत्पन्न हुने रोग हो बाथ । शरीरले रोगसँग लड्ने रसायनहरु निकाल्दा त्यसले जब शरीरका विभिन्न जोर्नीहरुमा असर पु-याउँछ, त्यही हानीले पु-याउने रोग नै बाथरोग हो ।

बाथरोगका लक्षणहरु :

झन्डै २ सय किसिमको बाथरोग हुन्छन् । यीमध्ये केही बाथरोग धेरैजसो मानिसमा देखिने हुन्छ । कुनै कुनै बिरलै देखिने किसिमको पनि हुन्छ । सामान्यतया बाथरोगमा जोर्नी दुख्ने लक्षण मुख्य हो । बाथरोग लागेका ९० प्रतिशतमा देखिने लक्षणमा सामान्यतया जोर्नी दुख्ने नै हुन्छ । जोर्नी सुन्निने, रातो हुने समस्या हुन सक्छ । जोर्नीबाहेक शरीरका अन्य भागहरुमा जस्तै, फोक्सोमा लाग्यो भने दम आउने, अक्सिजन घट्दै जाने, हातखुट्टाहरु निलो हुँदै जाने, खकार लाग्ने, खकारमा रगत देखिने हुन्छ । किड्नीमा बाथरोग लागेको छ भने पिसाबबाट रगत जाने, पिसाबबाट प्रोटिनहरु जाने, त्यसले गर्दा जिउहरु दुख्ने त्यस्तो समस्याहरु देखिन सक्छ । मस्तिष्कमा बाथरोग लागेको छ भने मिर्गी रोग लाग्ने वा बेहोस हुने समस्याहरु देखिन सक्छ । कुन अङ्गमा बाथरोग लाग्छ, त्यस अनुसार फरक फरक लक्षण हुन सक्छ । छालामा बाथ रोग भयो छालामा दागहरु आउने, अलिकति प्रेसर पर्ने बित्तिकै निलो दागहरु देखा पर्ने, हात चिसो भएपछि निलो हुने समस्याहरु देखापर्छ ।

बाथरोगले कपालदेखि नङ्सम्म असर गर्ने हुन्छ । कपाल झ-यो भने पनि एक किसिमको बाथरोग लाग्यो भनेर बुझ्दा हुन्छ । मेरुदण्डको बाथरोग लाग्यो भने आँखा रातो हुने समस्या हुन्छ । मुखमा घाउ आउने, अल्सर हुने भयो भने बाथरोग लागेको हुन सक्छ । कानको कुर्कुरे हाड कुहिँदै जाने, दुख्ने, सुन्निने समस्या पनि एक किसिमको बाथरोगबाट हुन सक्छ । यो कुन चाहीँ अङ्गमा लाग्छ, त्यस अनुसार लक्षण देखापर्छ । कसरी उपचार गर्न सकिन्छ ? बाथरोगका अनेक प्रकार हुन्छन् । कुन किसिमको बाथरोग लागेको छ, सोहीअनुसार यसको उपचार गरिन्छ । बाथरोगको उपचारका लागि हामीले दुई–तीन किसिमको सिद्धान्त हेर्नुपर्ने हुन्छ । यो रोग प्रतिरोधात्मक क्षमतामा गडबडीका कारण लाग्ने रोग हो । यो रोगको उपचारमा सिद्धान्ततः हामीले रोेग प्रतिरोधात्मक क्षमताको सन्तुलन मिलाउन सक्नुप-यो अर्थात् यसलाई सन्तुलनमा राख्नुपर्यो । आम मानिसको बुझाइमा के छ भने रोगसँग लड्न सक्ने शक्ति कमजोर भयो भने बाथरोग लाग्छ भन्ने सोच छ, त्यो गलत हो । बाथरोग रोग प्रतिरोधात्मक क्षमतामा असन्तुलन भएपछि त्यसले चाहिने ठाउँमा आक्रमण नगरीकन नचाहिने ठाउँमा आक्रमण गरिरहेको हुन्छ । गलत ठाउँमा काम गरिरहेको हुन्छ, त्यसले गर्दा यसको उपचार पनि फरक फरक तरिकाले हुन्छ ।

उपचार पद्धति :

बाथरोगको एउटा समूहको औषधी हुन्छ, बिरामीको जोर्नी दुखाई कम गर्ने औषधी । यस्ता औषधीहरु पनि फरक फरक हुन्छन् । समूहअनुसार औषधी पनि फरक फरक हुन्छ । बाथरोगमा रोग प्रतिरोधात्मक पद्धति मिलाउनुपर्ने खालका औषधीहरु पनि हुन्छन् । आजभोलि बायोलोजिकल एजेन्ट भनिने औषधी पाइन्छ, जसले रोग प्रतिरोध क्षमतालाई विषेश जोड दिएर काम गर्छ । यसमा रोगअनुसार विभिन्न किसिमले उपचार हुन्छ । जस्तो धेरैलाई यूरिक एसिडको बाथरोग हुने गरेको छ । जनमानसमा के छ भने बाथरोग भन्ने बित्तिकै यूरिक एसिड भनेर बुझ्ने चलन छ । मैले सधैँ भन्ने गरेको छु, यूरिक एसिड भनेको बाथरोग हो तर सम्पूर्ण यूरिक एसिड भनेकै बाथरोग चाहीँ हैन । यूरिक एसिडको बाथरोगमा हामीले नदुख्ने औषधीहरु, यूरिक एसिड घटाउने औषधी दिन्छौँ । विभिन्न किसिमको बाथरोगमा विभिन्न किसिमका औषधीहरु दिन्छौँ । अन्य रोगसँग बाथरोगको सम्बन्ध तपाईले सुन्नुभएको होला, डायबिटिज भएको मान्छेलाई प्रेसर हुने सम्भावना बढी हुन्छ । थाइराइड भएको मान्छेलाई फलानो रोग लाग्न सक्ने बढी सम्भावना हुन सक्छ । त्यस्तै, बाथरोग भएको मान्छेलाई अरु रोग पनि हुन सक्छ । तर सामान्यतया बाथरोग भएको मान्छेलाई यही रोग हुन्छ भन्ने चाहीँ हुँदैन । जस्तो, यूरिक एसिडको बाथरोगसँगै हामीले उच्च रक्तचाप भएको देख्न सक्छौँ, रक्तचाप उच्च भएको मान्छेमा यूरिक एसिडको मात्रा बढी पाइन्छ । यस्तै मिर्गौलाका रोगीहरुमा मिर्गौलाले राम्ररी काम गर्न नसक्दा यूरिक एसिडको मात्रा बढ्दै जाने र त्यसले गर्दा यूरिक एसिडको बाथ रोग हुन सक्छ । यूरिक एसिडको बाथरोगमा अर्को देखिन सक्ने साझा समस्या जिउमा बोसोको गडबडीको समस्या हो । यूरिक एसिडको बाथरोग भएकाहरुमा कलेजोमा बोसो धेरै जमेको देख्न सक्छौँ ।

नेपालमा बाथ रोगीको अवस्था

नेपालमा बाथ रोगीहरुको अवस्था यसबारेमा नेपालमा आधिकारिक रुपमा अध्ययन त भएको छैन तर हामीले काम गरेको आधारमा हेर्दा १० प्रतिशत जनसंख्यालाई कुनै न कुनै रुपमा बाथरोग भएको पाइएको छ । चाहे त्यो यूरिक एसिडको बाथरोग होस्, चाहे हड्डी खिइने बाथरोग होस् । यी लगायतका अन्य बाथरोग झन्डै १० प्रतिशत मानिसमा भएको पाइन्छ । बाथरोग लागेपछि उपचार गर्नका लागि पर्याप्त अस्पताल छैन । नेपालका प्रत्येक अस्पतालमा बाथरोगको उपचार हुँदैन । सरकारी अस्पतालमा वीर अस्पताल र पाटन अस्पतालमा मात्र बाथरोगको उपचार हुने गरेको छ । अरु केही निजी अस्पतालले उपचार गर्ने गरेका छन् । विगतका केही वर्षमा डाक्टरहरुको उपलब्धता बढ्दै गएको भए पनि अरु रोगको तुलनामा बाथरोगका डाक्टरहरुको संख्या कम नै छ । मुटुको रोग, पक्षघात, प्रेसर, सुगर भयो भने बाथरोगको लक्षण छिटो आउँछ । मान्छेमा सुगर, प्रेसर भयो भने मुटुमा असर गर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *