काठमाडौँ। नेपाली काँग्रेसले प्रजातन्त्र सेनानी अमरबहादुर गौलीको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ति जारी गर्दै पार्टीका पुराना नेता एवं पूर्वमहासमिति सदस्य ८६ वर्षीय गौलीको निधनप्रति दुःख व्यक्त गरेका छन।
विसं २०६४ को संविधानसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं–२ बाट उम्मेदवार बनेका गौलीको इटहरीस्थित आफ्नै निवासमा निधन भएको हो । गौलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
गौलीको निधनमा पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरे । “काँग्रेस सुनसरीका पुराना नेता गौलीको निधनले मलाई दुखित बनाएको छ, गौलीले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी सङ्गठनमा पुर्याउनुभएको योगदान महत्वपूर्ण छ”, देउवाले भनेका छन । सभापति देउवाले गौलीको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन ।




