ताजा समाचार

राजपाको नयाँ माग : राष्ट्रिय सभामा सीट बढाऔं

काठमाडौं।तराई मधेशमा राजनीति गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारसँग नयाँ माग तेर्स्याए छ । समाजवादी पार्टीसँग एकिकरणको तयारीमा रहेको राजपाले सरकारसँग संविधान संशोधनमार्फत राष्ट्रिय सभाको सीट संख्या बढाउन माग गरेको हो ।

सत्तारुढ दल नेकपाले सरकारमा आउन गरेको आग्रहसँगै राजपाका नेताहरुले अध्यक्ष मण्डलमा रहेका चार नेतालाई संसदमा लैजानेगरी संविधान संशोधन गर्न माग गरेको स्रोतले जनाएको छ । उनीहरुले हाम्रा केही नेताहरुलाई पनि राष्ट्रिय सभामा लैजानु पर्यो नि भनेपछि सत्तारुढ दलभित्र संविधान संशोधनको बहसले विषय प्रवेश पाएको थियो । ‘राजपाले राष्ट्रिय सभाको सीट संख्या बढाउन मागेको यदि संख्या बढाउदा राजपाको मागलाई मात्रै ध्यान दिइदैन त्यसकारण कम्तीमा ८ सीट बढ्नेछ’, नेकपा उच्च स्रोतले भन्यो ।

शनिवारको सचिवालय बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनको विषय प्रवेश गराएका थिए । सो विषयमा राजपाले राखेको शर्तको बारेमा पनि छलफल भएको थियो । राजपालाई एक मन्त्री र उपसभामुख दिन तयार भएपनि उसले मानिराखेको छैन । राजपाको शर्तलाई मनाउन र सरकार दुई तिहाइको छ भन्ने देखाइरहन पनि संविधान संशोधन गर्नु आवश्यक रहेको जिकिर गरिएको थियो । ‘राजपाका नेताहरु महेन्द्र यादव, शरदसिंह भण्डारी लगायतलाई राष्ट्रिय सभामा लैजानेगरी संविधान संशोधनको माग आएको सत्य यसलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा नेताहरुवीच छलफल भएको थियो’, नेकपा उच्च स्रोतले भन्यो । तर नेकपाभित्र संविधान संशोधनको कार्यदल बनाउने निर्णय नहुदै छलफलबाटै सो प्रकृया तुहिने अवस्था आएको छ ।

‘संविधान संशोधनको विषयमा छलफल हुँदा पनि कार्यदल बन्यो भनेर मिडिया हल्ला भएपछि त्यसले सार्थकता नपाउने अवस्था आयो’, नेकपा स्रोतले भन्यो । स्रोतका अनुसार राजपाका नेताहरुले संसदमा आफ्नो प्रतिनीधित्व बढाउन लविङ गरेका हुन । उनीहरुले हाल संसदमा आफ्नो उपस्थिति बढाएर सरकारसँग आफ्ना मुद्धा बार्गेनिङ गर्न सहज पार्ने सोच बनाएको स्रोतको दावी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *