कोशी प्रदेश

तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रधानमन्त्री ओली   

यासोक।प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन । पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत् पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ विकासका काम अघि बढाउनु नै सरकारको मुख्य लक्ष्य रहेको बताएका हुन । आफू झण्डै ५० वर्षअघि यासोक र रानीगाउँ क्षेत्रमा हिँडेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सबै क्षेत्रको विकास सरकारको उत्तिकै प्राथमिकतामा परेको बताए । “हाम्रो काम सकेसम्म देशको विकास र जनतालाई सहुलियत दिने हो”, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले टाढाबाट कम्मरमा पानी बोकेर ल्याउनुपर्ने पीडा र दुःखसँग आफू साक्षात्कार रहेको बताउँदै मोटरबाटो, विद्युत्, खानेपानी जस्ता अत्यावाश्यक सेवा उपलब्ध गराउन सरकारले दूरगामी महत्वका आयोजना अघि बढाएको बताए।

प्रधानमन्त्री ओलीले पूर्वी नेपालमा ठूला सडक आयोजनासहित तमोर जलाशययुक्त आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताए । “विकास, बिजुली, बाटो, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारी यिनै कुराहरुसँग जनताको सुखसुविधा जोडिएको छ”, प्रधानमन्त्री ओलीले भने, “यिनै कुरामा हाम्रो ध्यान गएको छ ।” प्रधानमन्त्री ओलीले यहाँ महिलाको दुःख अन्त्य भएकामा बधाई ज्ञापनसमेत गरे । प्रधानमन्त्री ओलीले खानेपानी आयोजना सञ्चालनका लागि विद्युत् महसुलमा छुट दिन आफू सकारात्मक रहेको बताए। प्रधानमन्त्री ओलीले सुखसुविधा पुगेका स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीयवासीलाई आग्रह गरे । “उता हपहप गर्मी भएका बेला यनको शीतल हावा खान तराईका सबै मानिसहरु आउँछन्”, प्रधानमन्त्री ओलीले भने “तपाईंहरुले त्यस खालको वातावरण निर्माण गर्नुहोस् ।”

सो अवसरमा प्रधानमन्त्री ओलीलाई सहभागीले उहाँको ६९औँ जन्मदिनको सामूहिक शुभकामना व्यक्त गरेका थिए । शुभकामना व्यक्त गर्ने सबै सहभागीलाई प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गरे । उनले आफ्नो उपचारमा सहयोग गर्ने डा रमेशसिंह भण्डारी, डा दिलीप शर्मालगायतलाई धन्यवाद ज्ञापन गर्दै सहभागीमाझ परिचय गराएका थिए ।

कार्यक्रममा खानेपानीमन्त्री विना मगरले मुलुकभर खानेपानीको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै समृद्धिका लागि स्वच्छ खानेपानीको उपलब्धत गराउन सरकार प्रयत्नशील छ भनिन। “खानेपानी दैनिकीसँग जोडिएको अत्यावाश्यक विषय रहेकाले यसको सही व्यवस्थापनलाई पहिलो खुड्किलोका रुपमा लिएका छौँ”, मन्त्री मगरले भनिन, “ठूला खानेपानी आयोजनाहरुलाई सफल बनाउन विशेष ध्यान दिएका छौँ ।” उनले खानेपानी आयोजनाहरुको विस्तार र सुधारमा समेत सरकारले सहयोग गर्ने बताइन । सो अवसरमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समेत धारणा राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *