काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जन्मदिन तेह्रथुमको आठराईस्थित आफ्नो जन्मघरमा मनाउने भएका छन् । ६९ औँ जन्मदिन मनाउन प्रधानमन्त्री ओली आज बिहान तेह्रथुम गएका छन् । हेलिकप्टर मार्फत प्रधानमन्त्री ओली तेह्रथुम प्रस्थान गरेको प्रेस सल्लाहकार सूर्य थापाले बताए । तेह्रथुमको आठराई गाउँपालिका ४ इवामा ओली जन्मेका थिए ।
त्यहाँ उनको जन्मघर छ । प्रधानमन्त्री ओली गाउँ आउन लागेको अवसरमा आठराई गाउँपालिकाले आइतबार स्थानीय तहमा सार्वजनिक बिदा दिएको छ। प्रधानमन्त्री ओलीले आइतार दिनभर तेह्रथुममा विभिन्न ठाउँमा विकास निर्माणका कामको शिलान्यास गर्ने भएका छन् । कार्यक्रमको तयारीको लागि प्रधानमन्त्रीको एक टोली तेह्रथुममै छन्।
‘छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको प्रधानमन्त्री ज्यूले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । ओलीका पुराना दौँतरीले उनको जन्मदिनको अवसरमा कार्यक्रम राखेका छन् । प्रधानमन्त्रीको स्वागतका लागि शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन दिएको गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ। यस अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ।




