काठमाडाैं । आजका सबैजसाे पत्रिकामा सञ्चारमन्त्रीकाे कमिशन डिलबारे अडियाे रेकर्ड र त्यसपछि बुझाएकाे राजिनामाबारे मुख्य खबर छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाले गरेको कमिसन बार्गेनिङ र त्यसबारेको अडियो सार्वजनिकलगत्तै उनले मन्त्री पदबाट दिएको राजीनामा आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ ।
कान्तिपुरले ‘ओलीका विश्वासपात्रको बहिर्गमन’ शीर्षकमा मुख्य समाचार बनाएको छ । समाचार अनुसार बास्कोटा ओलीको शयनकक्षसम्म पहुँच राख्थे ।उनको अधिकांश उठबस बालुवाटारमै हुन्थ्यो । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसँग हाकाहाकी कुरा गर्थे । प्रधानमन्त्री पनि उनकै कुरा सुन्थे ।
त्यस्तै कान्तिपुले नै पहिलो पृष्ठमा प्रधानमन्त्री समक्ष दुई महिनाअघि नै अडियो रेकर्ड पुगेको दाबीसहितको समाचार पनि छ ।
यसरी आयो बास्कोटाको राजिनामा शिर्षकमा समाचार लेखेको अन्नपूर्णले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको कार्यकक्षमा बिहीबार साँझ छापा मारिएको लेखेको छ । मन्त्रालयमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीले बास्कोटाको निजी सचिवालयका कागजपात्र नियन्त्रणमा लिएका हुन् ।




