काठमाडौं । रौतहटदेखि बारा पर्सा सम्म चन्दा आतंक फैलाउदै आएका ‘मस्ट वान्टेड’ सूचीमा रहेका रौतहटका कामेश्वर पटेललाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । उनले विभिन्न राजनीतिक आवरणमा हत्या, अपहरण तथा असुली गर्दै सर्वसाधारण व्यापारी उद्योगीहरुलाई तर्साउदै आएपछि प्रहरीको खोजी सूचीमा परेका कारण फरार भएका पटेलाई प्रहरीले गए राती गोली हानेर पक्राउ गरेको हो ।
विगतमा तराई जनतान्त्रिक तराई मुक्ति मोर्चाको रौतहट अध्यक्ष हूँ भन्दै हत्या र अपहरणका वारदात गरेका थिए । जनतान्त्रिक तराई मुक्ति मोर्चा अहिले समाप्त भइसकेको छ र पटेल लामो समयदेखि भारतमा लुकेर बसिरहेका थिए । उनी लुकिछिपी नेपाल आउँछन् भन्ने विश्वाशका साथ प्रहरीले निगरानी गरिरहेको थियो । पटेल नेपाल आएको सुराक रौतहट प्रहरीले पायो । उनी केही दिन बारामा लुकेर बसेका थिए । मंगलबार राति पटेल भारतीय नम्बर प्लेटको मोटरसाइकलमा बाराबाट रौतहट जाँदै गरेको सूचना प्रहरीले पायो । रौतहटका दुई डिएसपी नवीन कार्की र हेमबहादुर शाही पटेलको गाउँ मौलापुर–८ सोनरनिया जाने बाटोमा निगरानी गरेर बसेका थिए ।
प्रहरीका अनुसार गाउँ नजिकै आएपछि उनी मोटरसाईकलबाट झरेर जंगलको बाटो पैदल जान लागेका थिए । प्रहरी टोली उनी नजिक पुग्यो । तर, पटेल भाग्न थाले । ‘हामीलाई देख्नासाथ उनले फायर गरे, त्यो फायर मिस भयो’ जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनले भने– ‘हामीले जवाफी फायरिङ गरेर पटेललाई नियन्त्रणमा लिएका छौं ।’ उनलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड गोली चलाएको छ । बाँया खुट्टामा गोली लागेर घाइते भएका पटेलको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । पटेलको साथबाट एउटा कटुवा पेस्तोल र पाँच राउण्ड गोली बरामद गरिएको डिएसपी कार्कीले जानकारी दिए । तराईका विभिन्न जिल्लामा पटेल विरुद्ध दर्जनभन्दा धेरै मुद्धा रहेका छन् । उनलाई डकैती, ज्यान मुद्धा दर्ता रहेको प्रहरीले जनाएको छ ।




