काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशमा विशाल सभाको आयोजना गर्ने भएको छ। पार्टी अभियानको लागि नेकपाले प्रमुख नेताहरुलाई जिम्मेवारी तोकेसँगै विशाल सभाको आयोजना गर्ने भएको हो । पार्टीले जारी गरेको अन्तरपाटी निर्देशन अनुसार सातै प्रदेशका भेलामा दुबै अध्यक्ष आउने गरी प्रदेशलाई सूचित गरिएको छ । प्रधानमन्त्री रहेका अध्यक्ष केपी ओली स्वास्थ्यका कारण सबै कार्यक्रममा जान सम्भव नभए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सबै कायक्रममा सहभागी हुने तयारी छ ।
केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालका अनुसार बरिष्ठ नेता माधवकुमार नेपाल प्रदेश दुई र बागमती, अर्का बरिष्ठ नेता झलनाथ खनाल गण्डकी र कर्णाली, उपाध्यक्ष वामदेव गौतम प्रदेश दुई र सुदूरपश्चिम, प्रवक्ता नारायणकाजी श्रेष्ठ गण्डकी र कर्णाली, सचिवालय सदस्य ईश्वर पोखरेल प्रदेश दुई र वागमती, सचिवालय सदस्य रामबहादुर थापा प्रदेश एक र पाँच तथा महासचिव विष्णु पौडेल प्रदेश एक र पाँचमा प्रमुख वक्ताका रुपमा सहभागी हुने सचिवालयले जानकारी दिएको छ । नेकपाले फागुन ४ र ५ गते प्रदेश पाँच, फागुन ६ र ७ गते कर्णाली, फागुन ९ र १० गते प्रदेश दुई, फागुन १२ र १३ गते गण्डकी र फागुन १५ र १६ गते वागमती, फागुन १८ र १९ गते सुदूरपश्चिम र फागुन २० र २१ गते प्रदेश एकमा प्रदेश कमिटीका बैठक तथा भेलाहरु आयोजना गर्दैछ । पार्टी एकतापछि केन्द्रीय योजना अनुसार बृहत् कार्यकर्ता भेला र प्रशिक्षण हुन लागेको पहिलो पटक हो ।




