कला/साहित्य

भ्यालेन्टाइन विशेष कविताः माया प्रेमको फेसन

कविताः माया प्रेमको फेसन

सुशिल सुस्केरा,गाेरखा

आयो प्रेम गजब बढा सहरमा चढेर नौलो गाडी
हेर हेर्न अजिव प्रेम बिचरो निस्कियो घरै छाडी
भेटिन्छ प्रेमप्रणय जताततै खै भेटिन्न स्वच्छ मन
कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन

उड्दछे भरी रङ्ग बिचित्रको प्यारी एउटि प्रीयसि
आउँछ समाचार बलात्कारको भेटिनन् कुनै दसि
प्यार के हो शरीर सुख, मन मेल बुझिन मैले भन
कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन

सोच्दैछु किन आज प्रणयले आफ्नो दम लिएन
बा को पालामा पनि प्रेम थियो तर उदाङ्गो थिएन
ती अर्गानिक माया प्रेम खोज्दैछु म खै कहाँ छन्
कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन

लड्यो लोटा उठाउ आमा भन्छिन्, छोरी सानी छ
त्यही सानीले छलेर आमालाइ घुम्न जान जानी छ
प्यासिहरुको नबुझी मन बिचरी सुम्पन्छे सारा तन
कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन

खेल्दो रहेछ छि छि सहरले प्रेमको डरलाग्दो पिङ
पति परदेश बाबु बोर्डिङमा काकी चल्छिन् डेटिङ
चैतको खर झै प्रेम आगोले बल्दै छ समाज दनदन
कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन

देखे भने कुनै नौली युवती फेसबुक तिर काका
बढाइ बढाइ पावर चश्मामा तानेर हेर्छन आखा
मनाउदै प्रेम सप्ताह बुढो मनले भन्छ तन्नेरी बन
कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन

आफ्नै सस्कृतिमा रम मन भित्रको लिग प्रेम रस
हैन ह्याप्पी भ्यालेन्टाइन, मनाउ मुना मदन दिवस
काचका सोकेसमा हेर गुलाफ सजिन्छ टनका टन
कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन

गरे हुनेथ्यो प्रेम अमर अजर आमा बुबाले जस्तो
आखाको आकर्षण प्रेम भयो छि छि कति सस्तो
भुली आफ्नो सभ्यता हान्दैछन् पश्चिमी गल घन
कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *