आजका पत्रपत्रिकामा फरक फरक समाचारले स्थान पाएका छन् । सरकारकाे समिक्षाबारे सबै पत्रिकाले स्थान दिएका छन् भने जनयुद्ध दिवसको समाचार र तस्वीरले पनि स्थान पाएका छन् । साथै बालुवाटार जग्गा प्रकरणमा गृह मन्त्रालयले प्रहरीमा किटानी जाहेरी दिएको र पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि भ्रष्टाचारको विषयमा छानबिन गर्न संसदीय समितिले सुझाव दिएको विषयले पनि प्राथमिकता पाएको छ ।
कान्तिपुर दैनिकले अर्थतन्त्रमा अलमल शिर्षकमा प्रधानमन्त्री केपी शर्मा ओलीको दुई वर्षे कार्यकालको समीक्षा गरेर मुख्य समाचार लेखेको छ ।
नागरिक दैनिकले पनि सरकारको दुई वर्षे कार्यकालको समीक्षा गर्दै सरकार–पार्टी सम्बन्धमा उतारचढाव आएको विषय उठाएको छ । साथै सरकारप्रति जनताका अपेक्षा धेरै भए पनि सरकारको काम गर्ने गति सुस्त रहेको समाचारमा उल्लेख छ ।
अन्नपूर्ण पोष्ट दैनिकले चिनियाँ पर्यटक निर्बाध रुपमा नेपाल भित्रिइरहेको समाचार छापेको छ । कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटे पनि आउने क्रम भने नरोकिएको समाचारमा उल्लेख छ । नेपाल समाचार पत्रले पुर्वसेनापति क्षेत्री पनि अनुसन्धानकाे घेरामा परेकाे समाचारलाइ मुख्य बनाएकाे छ भने जनयुद्ध दिवसमा प्रधानमन्त्री सामेल नभएकाे समाचारलाइ मुख्य बनाएर जनयुद्ध दिवसमा गाैतम र पाैडेल मात्र उपस्थित शिर्षकमा मुख्य समाचार लेखेकाे छ ।




