आजका पत्रपत्रिकामा विश्वकप छनोट लिग २ को खेलमा नेपालले अमेरिकामाथी कीतिृमानी जित निकालेको खबर र तस्वीरले स्थान पाएको छ भने ओली सरकारको २ वर्षको समिक्षाबारे सबै पत्रिकामा स्थान पाएका छन् ।
अन्नपूर्ण पोष्ट् दैनिक, नागरिक कारोबार लगाएत सबै राष्ट्रिय दैनिक पत्रिकामा सरकारले खर्च र राजस्व लक्ष्य घटाएको विषयमा प्रमुख समाचार छ । समाचार अनुसार सरकारले चालु आर्थिक वर्षको खर्च र राजस्वको अनुमान संशोधन गरेको छ । अर्थमनत्री डा. युवराज खतिवडाले २०७६र०७७ को बजेटको मध्यावधी समीक्षा गर्नुहुँदै १५ खर्ब ३२ अर्बमध्ये १३ खर्ब ८५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको बताएका छन् । यो कुल विनियोजित रकमको ९०.४ प्रतिशत हो ।
कान्तिपुरले केपी शर्मा ओली नेतृत्वको सरकारको २ वर्षे कार्यकालको समीक्षा गरेको छ । प्रधानमन्त्री ओलीले कैयन वाचाहरू गरे पनि ती पूरा नभएको कान्तिपुरको निष्कर्ष छ ।
नेपाल ट्रस्टको १७३ रोपनी जग्गा शंकास्पद मोहीका नाममा रहेको अर्को खबर पनि कान्तिपुरमा पढ्न सकिन्छ । कान्तिपुरका अनुसार बाबुराम भट्टराई नेतृत्वको सरकारले काठमाडौंको मातातीर्थ, थानकोट, सतुंगल, साविक इचंगु गाविसको १७३ रोपनी जग्गा मोहीका नाममा बाँडेको हो ।
नागरिक दैनिक पत्रिकाले चीनबाट नेपालीको उद्धारपछि राखिने ठाउँको तयारीबारे समाचार लेखेको छ भने काेरोनाको सन्त्रासले खरिपाटीबासी बसाई सर्ने तयारीमा रहेको अर्को खबर छापेको छ । सरकारले चीनबाट उद्धार गरी फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने भएपछि नोवल कोरोना भाइरस संक्रमणको त्रासले स्थानीय बसाइँसराइको तयारीमा जुटेका छन्। चीनको हुबेई प्रान्तको वुहानबाट एक सय ८० भन्दा बढी नेपालीलाई स्वदेश ल्याई खरिपाटीस्थित विद्युत् तालिम केन्द्रलगायत स्थानमा क्वारेन्टाइनमा राख्ने भएपछि रोग सर्ने डरले बसाइँ सर्न लागेको स्थानीयले बताएका छन्।




