काठमाडौं । नेपालले पहिलो पटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ सन्दर्भको राष्ट्रिय सम्मेलनमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । राजधानीको दरवारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजना गरिएको सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम थियो ।
प्रधानमन्त्री अनुपस्थित भएपछि कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन् । प्रधानमन्त्रीबाट उद्घाटन हुने भनिए पनि प्रतिकूल स्वास्थ्यका कारण ओली आउन नसकेको कार्यक्रममा जानकारी दिइएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्य प्रतिकूल भएकाले कार्यक्रममा उपस्थित हुन नसकेको बताए ।




