काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउनका लागि मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन् ।
वालुवाटार निकट स्रोतका अनुसार केही दिन भित्रै तुम्बाहाम्फेलाई कानुन मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । सरकारी सार्वजनिक जिम्मेवारी दिने शर्तमा उनलाई उपसभामुख पदबाट राजिनामा गराएर नेकपाले अग्नीप्रसाद सापकोटालाई सभामुख बनाएको थियो । हाल कानुन मन्त्रालय स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् । यसअघि कानुन मन्त्रालय समाजवादी पार्टीको भागमा परेको थियो । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजिनामा दिएपछि ढकाललाई जिम्मेवारी दिइएको हो ।
पूर्व उपसभामुख तुम्बाहाम्फेलाई सोही मन्त्रालयको जिम्मेवारी दिन लागिएको स्रोतको दावी छ । उपसभामुख पदबाट राजिनामा दिएपछि पार्टीले केन्द्रीय सदस्यमा मनोनित गर्नुका साथै संसदीय दलको कार्यालयमा छुट्टै कोठाको प्रबन्ध समेत गरिदिएको छ । अब मन्त्रिपरिषद विस्तार हुँदा आठौ पटक हुनेछ । यसअघि ह्दयेश त्रिपाठीहरुलाई मन्त्रिमण्डलमा समावेश गरेका थिए ।




