काठमाडौँ।आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल अमेरिका विरुद्धको खेलमा अहिले ब्याटिङ गरिरहेको छ । अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नपाल ब्याटिङमा उत्रेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालको शुरुआत राम्रो रहेन । टोलीका भरपर्दा ब्याटस्म्यान शरद भेषवाकर घाइते भएपछि आजको खेलमा आएका सुवास खकुरेल तीन रनमै पभेलियन फर्किए। त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । खेलको सत्रौँ ओभरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै पभेलियन फर्किए। खेलको १८औँ मिनेटमा पारस खड्का १९ रन बनाएर आउट चए । खेलको २१औँ ओभरमा आरिफ शेख दुई बनाएर पभेलियन फर्किए । अहिले कुशल मल्ल र विनोदसिंह भण्डारी ब्याटिङ गरिरहे। नेपालले २१ ओभरमा पाँच विकेट गुमाएर ४९ रन बनाएको छ ।
विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल र ओमानबीचको खेलमा शरद घाइते भएपछि सुवास झण्डै डेढ वर्षपछि नेपाली टोलीमा फर्किएका हुन । प्रारम्भिक ब्याटस्म्यानका रुपमा कप्तान ज्ञानेन्द्र मल्लसित खेल्न आउएका सुवासले दर्शकलाई निराश पारे । ओमानसँगको खेलमा चोट बोकेका शरदलाई चिकित्सकले १० दिन आराम गर्न सल्लाह दिएका छन् । चोटका कारण शरदले आजको खेलसँगै बाँकी दुई खेल पनि गुमाउने निश्चत भएको छ ।
सिरिजको पहिलो खेलमा ओमानविरुद्ध शरदले ५५ रन बनाएका थिए । ओमानविरुद्धको खेलमा पूर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल ब्याटिङ आरम्भ गर्न मैदानमा आएका थिए । दुवै खेलाडी सफल भने हुन सकेनन । सो खेलमा पारसले १४ बल खेल्दै तीन रन तथा ज्ञानेन्द्रले १२ बल खेलेर एक रन मात्र बनाएका थिए । त्यसैको फलस्वरुप नेपाल ओमानसँग १८ रनले हार्न पुगेको थियो ।
ओमानले दिएको १९८ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेपालले सबै विकेट गुमाउँदै १७९ रन मात्र बनाएको थियो । सुवासले सन् २०१२ को मलेसियामा भएको डिभिजन चारमा अमेरिकाविरुद्ध ११५ रनको शतकीय पारी खेलेका थिए । अभ्यास खेलमा सुवासले अमेरिकाविरुद्ध मूलपानी क्रिकेट मैदानमा अविजित ५२ रन बनाएका थिए । उनले हालसम्म अमेरिकाविरुद्ध पाँच खेलमा २३८ रन बनाएका छन । उनले गत वर्ष सेप्टेम्बरमा मलेसियामा भएको एशिया कप क्वालिफायारमा हङकङसँग अन्तिम खेल खेलेका थिए । हालै सुनसरीको इनरुवामा सम्पन्न मनमोहन स्मृति क्रिकेटमा उनले प्रदेश नं १ विरुद्ध वाग्मती प्रदेशबाट खेल्दै अविजित ८५ रन बनाएका थिए।
सन् २०११ देखि २०१६ सम्म लगातार टोलीमा अटाउनुभएका सुवास त्यसयता चोटका कारण खेल्नबाट वञ्चित हुनुपरकाे थियाे उनी उमेर समूहको क्रिकेट खेल्दै सिनियर टोलीमा छानिएका हुन । सन् २०११ मा भएको एसीसी टि–२० इलाइट कपमा उनले राष्ट्रिय टोलीबाट डेब्यू गरकाे हुन ।
अमेरिका सन् २०१० पछि नेपाल आएको हो । अमेरिकी कप्तान सौरभ नेत्रभाल्करले नेपाली दर्शकलाई सिरिजमा आफ्नो टोलीको बाधकका रुपमा लिएका छन। ‘‘नेपाली दर्शकले हामीलाई दबाबमा राख्नेछन्’’, सिरिज शुरु हुनुअघि उनले पत्रकार सम्मेलनमा भनेका थिए । विसं २०७४ चैत १ गते एकदिवसीय मान्यता पाएको नेपालले घरेलु मैदानमा पहिलो पटक सिरिज खेलिरहेको छ ।
नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले हार्दै तालिकामा अङ्कविहीन अवस्थामा छ । डिभिजन दुईमा हालसम्म अमेरिकाले नौ खेल खेलिसकेको छ । ओमानसित अमेरिका छ विकेटले पराजित भए पनि १२ अङ्कका साथ शीर्ष स्थानमा छ ।
तीनवटै टोलीले यो सिरिजमा चार चार खेल खेल्नेछन् । माघ २९ गतेसम्म चल्ने सो सिरिजअन्तर्गत नेपालले तेस्रो खेल ओमानसँग माघ २६ गते तथा अन्तिम खेल अमेरिकासँग माघ २९ गते खेल्नेछ । यस सिरिजमा ८५ हजार डलरको हाराहारीमा खर्च हुने अनुमान गरिएको छ । अमेरिकासितको खेलमा नेपाली टोलीमा कप्तान ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, सुशन भारी, सुवास खकुरेल र कुशल मल्ल खेलिरहेका छन।
रोहितकुमार पौडेलको ठाउँमा आज कुशललाई स्थान दिइएको हो । सन् २०१७ पछि नेपालले पहिलो पटक घरेलु मैदानमा ५० ओभरको खेल खेल्दै छ । यसअघि नेपालले सन् २०१६ र २०१७ मा कीर्तिपुरमा केन्या र नामिबियासित विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलेको थियो ।
आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो ।
लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेञ्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।




