चितवन।नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भ्रष्ट्राचार मुद्दामा दोषी देखिए जो कोहीलाई पनि कारवाही हुनुपर्ने बताएका छन । नेपाली काँग्रेस नगरसमिति कालिका नगरपालिकाले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भ्रष्ट्राचार मुद्दामा दोषी सबैलाई मेरो तेरो नभनी कारवाही गर्नुपर्ने बताएका हुन ।
सरकारले ललिता निवासको जग्गाको विषयमा काँग्रेस उपसभापतिलाई मुद्दा दर्ता गरेर तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजेको उनकाे आरोप थियो । उनले भने“ललिता निवासको जग्गाको विषयमा फाइल उठाएर लैजाने मन्त्रीलाई मुद्दा लाग्ने र क्याबिनेटबाट पास गराउने प्रधानमन्त्रीलाई कारवाही नहुनुे कस्तो बिडम्बना हो ।”
सो अवसरमा बोल्दै उनले अहिलेको सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । सरकारले जनताको बोल्न पाउने अधिकार खोसेर जनभावना विपरीत काम गर्न खोजेको आरोप थापाले लगाए।




