ताजा समाचार

पूर्व गृहसचिव राई अख्तियारको आयुक्त बन्दै

काठमाडौं । गृहसचिव प्रेमकुमार राईले सचिव पदबाट राजीनामा दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त गर्ने तयारी भएको छ । अख्तियारमा दुई आयुक्त पद रिक्त रहेको अवस्थामा सरकारले राईलाई सिफारिस गर्ने तयारी गरेको छ । स्रोतका अनुसार केही दिनमै संवैधानिक परिषद्को बैठक राखेर राईलाई आयुक्तमा सिफरिस गरिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र गृहसचिव राईलाई प्रमुख आयुक्त बनाउने विषयमा अन्य मन्त्रीहरूसँग पनि छलफल गरिसकेका छन् । सहसचिव हुँदा अख्तियारमै बसेर लामो समय काम गरेका राई कम विवादित व्यक्ति हुन् । उनलाई आयुक्त बनाउने विषयमा भने ओलीले शीर्ष नेतृत्व तहमा भने छलफल गरेका छैनन । ‘गृहसचिवबाट राजीनामा दिएपछि राईलाई अख्तियारमा नियुक्त गर्ने हल्ला सुनिएको छ तर सचिवालय बैठक वा अन्य शीर्ष तहमा भने छलफल भएको छैन,’ नेकपाका एक सचिवालय सदस्यले भने ।

राईकै पहलमा बालुवाटारको एक सय १३ रोपनी सरकारी जग्गा छानबिन भएको थियो । उनले राजीनामा दिनुअघि बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदनसमेत बुझाएको थियो । सरकारी जग्गा अपचलनको यो छानबिन प्रक्रिया गृहसचिव राईले सुरू गरेका थिए । राईले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका हुन् । राईसँगै अर्थ सचिव राजन खनाल, सचिवहरू गजेन्द्र ठाकुर र रामकुमार आचार्यले पनि अनिवार्य अवकास पाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *