काठमाडाैं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दशौँ चरणको अन्तिम खेलमा फ्रेन्ड्स क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा फ्रेन्ड्सले न्युरोड टिमलाई २–० गोलले पराजित गरेको हो ।
दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको ७८औँ मिनेटमा फ्रेन्ड्सका लागि सञ्जोग महर्जनले पहिलो गोल गरेका थिए। उनले साउलो डि अक्विनोको पासमा गोल गरेका हुन् । खेलको ८०औँ मिनेटमा विदेशी खेलाडी वाग्नर डि कार्मोले फ्रेन्ड्सका लागि दोस्रो गोल गरे । उनको प्रहार न्युरोडका गोलरक्षक अजित प्रजापतिलाई लागेर गोलमा परिणत भएको थियो ।
जितसँगै १४ अङ्कसहित फ्रेन्ड्स लिगको नवौँ स्थानमा उक्लेको छ । न्युरोड १५ अङ्कका साथ सातौँ स्थानमा छ । लिगको ११औँ चरणका खेल बिहीबारदेखि हुनेछन् ।




