खेलकुद

एकदिवसीय क्रिकेट खेलकाे मुखमै मुख्य प्रशिक्षक पटवालले दिए राजीनामा

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले नेपालमै आयोजना हुन लागेको त्रिकोणात्मक सिरिज अघि राजीनामा दिएका छन् । नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सकिएपछि लागू हुनेगरी पटवालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) समक्ष राजीनामा बुझाएका हुन् । । उक्त सिरिज बुधबारदेखि कीर्तिपुरमा शुरु हुँदै छ । नेपालले पहिलोपटक आइसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न लागेको हो । पटवाल गत जेठमा एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमै रहेका बखत पटवाललाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) को पहलमा आइसीसीले मासिक सात हजार अमेरिकी डलर पारिश्रमिक दिनेगरी मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उनले पोखरामा यसअघि भइरहेको बन्द प्रशिक्षणका क्रममा राजीनामा दिएको बताइएको छ । पटवालले पोखरामा बन्द प्रशिक्षणकै क्रममा आफूले मुख्य प्रशिक्षकबाट राजीनामा दिन लागेको बताउँदै आएका थिए । नेपालले ओमान र अमेरिकासित घरेलु मैदानमा चार खेल खेल्दैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पटवालको राजीनामाबारे आधिकारिकरूपमा कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *