काठमाडाैं । एक दिवसीय क्रिकेट टिमको मान्यता पाएको १ वर्षपछि पहिलो पटक नेपालले घरेलु मेदानमा एकदिवसीय क्रिकेट खेल्दै छ ।
आगामी बुधबारदेखि नेपालले आइसिसी विश्वकप लिग(२ प्रतियोगिताअन्तर्गत अमेरिका र ओमानविरुद्ध त्रिकोणात्मक सिरिज खेल्दैछ।
त्रिवि मैदानमा हुने खेलमा पहिलो पटक नयाँ कप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलको कप्तानी गर्ने छन् ।
नेपालले २०१८ को मार्च १५ मा एकदिवसीय क्रिकेट टिमको मान्यता पाएको थियो। एकदिवसीय मान्यता पाएको ५ महिना पछि मात्र नेपालले एकदिवसीय खेल खेल्ने मौका पायो। नेपालले २०१८ अगस्ट १ मा नेदरल्यान्ड्विरुद्ध आम्स्टर्डममा पहिलो एकदिवसीय खेल खेलेको थियो।
पहिलो एकदिवसीय खेलमा ५५ रनले पराजित भएको नेपालले अहिलेसम्म ६ वटा मात्र एकदिवसीय खेल खेलेको छ। नेपालले ६ मध्ये ३ खेलमा जित हात पारेको छ।
नेपालले पछिल्लो पटक २०१९ जनवारी २८ मा युएईसँग एकदिवसीय खेल खेलेको थियो। सो खेलमा नेपालले ४ विकेटको जित निकाल्दै युएईविरुद्धको सिरिज २(१ ले जितेको थियो।
सिरिजका लागि अमेरिका र ओमान नेपाल आइसकेका छन्। लिग(२ को शीर्ष स्थानमा रहेको अमेरिका मुम्बईमा अभ्यास गरेर आइतबार नेपाल आएको हो। ओमान सोमबार नेपाल आइपुगेको छ। दुवै टिमले नेपालमा उत्कृष्ट खेल्ने प्रतिक्रिया दिइसकेका छन्।
अमेरिकाले लिग-२ मा ८ खेलबाट १२ अंक जोडेको छ। ६ खेलमा जित हात पारेको अमेरिका २ खेलमा पराजित भएको थियो। ओमान भने ८ अंकसहित चौथो स्थानमा छ। उसले ६ मध्ये ४ खेलमा जित हात पारेको छ।
लिग-२ मा डेब्यू गर्न लागेको नेपालका लागि घरेलु मैदानमा हुने सिरिज महत्वपूर्ण छ। दर्शक र मैदानको फाइदा उठाउन सकेमा नेपालका लागि आगामी सिरिजमा साकारात्मक प्रभाव पर्ने पक्का छ।
नेपालले आफ्नो पहिलो खेलमा बुधबार ओमानसँग खेलेर घरेलु मैदानमा पहिलो एकदिवसीय खेल खेल्दैछ।
सिरिजमा नेपाल, अमेरिका र ओमानले एकआपसमा २(२ एकदिवसीय खेल खेल्नेछन्। जसमा जम्मा ६ वटा एकदिवसीय खेल हुनेछ।
नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, मोहमद आरिफ शेख, विनोद भण्डारी, अभिनास बोहरा,कुशल मल्ल, कमलसिंह ऐरी, सुसन भारी, रोहितकुमार पौडेल, शरद भेषवाकर, ललितनारायण राजवंशी
मुख्य प्रशिक्षक – उमेश पटवाल
प्रशिक्षक – जगत टमाटा
सहायक प्रशिक्षक (-बसन्त शाही
फिजियो (-विक्रम न्यौपाने
विश्लेषक – रमन शिवाकोटी
व्यवस्थापक- ऋषिराम गौतम
वैकल्पिक खेलाडीहरु- पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा, किशोर महतो




