काठमाडौं । गोदावरी नगरपालिकास्थित आनन्दवन अस्पतालमा गत वर्ष बहिरङ्ग विभागमा छ हजार १८५ बिरामीले उपचार सेवा लिएका छन् । कुष्ठरोगसम्बन्धी सबै उपचार र कुष्ठ प्रभावितका लागि पुनःस्थापना कार्यक्रमसमेत गर्दै आएको सो अस्पतालमा उक्त अवधिमा ८६५ बिरामी भर्ना भएर उपचार गराएका थिए ।
अस्पतालमा सबै उमेर र क्षेत्रका मानिस उपचारका लागि आउने गरेको चिकित्सक डा महेश साहले बताए । देशभित्र मात्रै नभएर कतिपय विदेशीसमेत आइरहेका छन् । उनले भने “विदेशीमा बढी भारतीय छन् र अरू दक्षिण एशियाली देशबाट छन् ।” अस्पतालले गम्भीर किसिमका घाउ भएका बिरामीको पुनःस्थापना शल्यक्रिया (रिकन्सट्रक्टिभ सर्जरी) गर्दै आएको अस्पतालमा कार्यरत चिकित्सक डा साहले बताए । अस्पतालले गत वर्ष नै ११३ जनाको यस किसिमको शल्यक्रिया गरेको थियो ।




