राजधानीबाट शनिबार प्रकाशित विभिन्न पत्रपत्रिकाले गत बुधबारबाट राजधानीमा शुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को केन्द्रीय कमिटी बैठकबारे विभिन्न कोणबाट समाचार छापेका छन् । त्यसैगरी कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै कान्तिपुर र अन्नपूर्ण पोष्ट्ले स्वास्थ्यमा सजग रहने सन्देशसहितको विश्लेषणात्मक समाचार बनाएका छन् ।
अन्नपूर्ण पोष्ट् दैनिकमा चीनमा रहेका नेपालीहरुले कोरोना भाइरसले संक्रमण गर्न नपाउँदै उद्दार होस् भन्ने चाहना राखेको समाचारलाई मुख्य समाचार बनाएको छ । चीनको हुपे प्रान्तको राजधानी उहानबाट फैलिएको कोरोना भाइरस विश्वका २० मुलुकसम्म पुगेपछि विश्व स्वास्थ्य संगठनले पनि संकटकाल घोषणा गरेको छ । भाइरसका कारण चीनमा मात्र २ सय १३ जनाको ज्यान गइसकेको छ । ‘गुटले पार्टी खायो’ अन्नपूर्ण पोस्ट्ले अर्को समाचार नेकपाको केन्द्रीय बैठकमा भएका रिपोर्टिङको सन्दर्भलाई मुख पृष्ठमा छापेको छ । ‘अहिलेको स्थितिमा नेकपाले पार्टी, नेता कार्यकर्ता र जनताको जिम्मा कसरी लिन सक्छ ? हाम्रो जीवनशैली र रहनसहन सुधार्न चाहेनौं भने अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा नकारात्मकतासँग नेकपाको भविष्य नजोडिएला भन्ने ग्यारेन्टी के छ ?’ सत्तारुढ नेकपाको पार्टी केन्द्रीय समिति बैठकमा रिपोर्टिङ राख्ने क्रममा युवा नेता लेखनाथ न्यौपानेले उठाएका प्रश्न हुन् यी ।
आजको कान्तिपुर दैनिकले ‘स्वास्थ्य संकटकाल घोषणा’ शीर्षकमा मुख्य पृष्ठमा समाचार छापेको । समाचारमा चीनबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमण करिब दुई दर्जन मुुलुकमा देखिएपछि विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको कान्तिपुरले लेखेको छ ।
नागरिक दैनिकले ‘घुम्न गएका चिकित्सक चीनमा अलपत्र’ शीर्षकमा प्राथमिकताकोसाथ छापेको । नागरिकले चीन घुम्न गएका डा.समीर भट्टराईको परिवार चीनमा कारोना भाइरसको कारण अलपत्र परेको समाचारलाई मुख पृष्ठमा छापेको छ । समाचारमा नागरिक लेख्छ, चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन्। चीनले हुपेई प्रान्तको सदरमुकाम वुहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्कन नपाउने भएका हुन्।




